२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

रास्वपालाई झट्का: बालेन निकटलाई उम्मेदवार बनाउन भ्रष्टाचारको आरोप, उम्मेदवार बनेका नेताले पार्टी छाडे

काठमाडौं । रुपन्देही–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस भएका डा. श्री कुँवरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका छन्। उनले पार्टीले प्राइमरी इलेक्सन नगरी उम्मेदवार तय गरेको र भ्रष्टाचारको नयाँ तरिका अपनाएको आरोप लगाएका छन्।

कुँवरका अनुसार पार्टीले समानुपातिकमा नाम राख्ने ५० हजार र प्रत्यक्ष उम्मेदवारको लागि २५ हजार रुपैयाँ लिने गरेको तर प्राइमरी इलेक्सन नगरेको तथ्यले उनलाई धोका पुगेको हो। उनले विदेशबाट नेपाल आएर दुई लाख खर्च गरेर उम्मेदवार सिफारिस भए पनि प्राइमरी इलेक्सन नहुँदा असन्तुष्ट भएको बताए।

कुँवरले अब रास्वपामा फर्कने योजना नरहेको स्पष्ट पारेका छन्। यसअघि पनि काठमाडौं–५ बाट उम्मेदवार बनेका रास्वपाका नेता प्रणय शमशेर राणाले प्रारम्भिक मतदानमा पारदर्शिता नभएको र शुल्क फिर्ता गर्नुपर्ने माग गरेका थिए।

रास्वपाले विदेशमा रहेका नेपालीको भावना समेत बेवास्ता गरेको आरोपमा पार्टीको छवि चुनौतीमा परेको छ।

प्रकाशित मिति : २०८२ माघ २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस