२०८२ माघ २४ गते शुक्रवार | 2026 February 6th Friday

‘सरकारले नतिरे महानगरले नै बीमा रकम तिर्छ, सेवा बन्द हुँदैन’

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालन भइरहेको स्वास्थ्य सेवाका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरपालिका आफैँले रकम तिर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले अस्पतालको सेवा कुनै हालतमा बन्द हुन नदिने संकेत गरेका हुन्।

बीमाबापतको रकम समयमै नआउँदा अस्पताल सञ्चालनमा समस्या परेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए। यदि भुक्तानी नहुँदा सेवा बन्द गर्नुपर्ने अवस्था आए सबैभन्दा बढी आलोचना आफूले सहनुपर्ने भएकाले समयमै भुक्तानी गर्न सरकारसँग आग्रह गरे। सरकारले औपचारिक पत्रमार्फत जिम्मेवारी दिए महानगरपालिकाले नै भुक्तानी गर्ने स्पष्ट धारणा उनले राखे।

महर्जनका अनुसार पाटन अस्पतालको प्राविधिक सल्लाहमा नयाँ स्वास्थ्य केन्द्र स्थापना भइरहेको छ र निकट भविष्यमै सञ्चालनमा आउनेछ। उक्त केन्द्र सञ्चालनमा आएपछि राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममार्फत नगरवासीले अझ गुणस्तरीय सेवा पाउने र महानगर–पाटन अस्पताल सहकार्य देशभरका स्थानीय तहका लागि उदाहरण बन्ने विश्वास उनले व्यक्त गरे।

सरकारले भुक्तानी नगरे सेवा प्रभावित हुन सक्ने चर्चा चलिरहेका बेला मेयर महर्जनले आवश्यक परे महानगरले नै दायित्व लिने भन्दै स्वास्थ्य सेवा निरन्तरतामा कुनै कमी हुन नदिने बताएका छन्। उनले ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा गरेको सहकार्य अन्य स्थानीय तहका लागि पनि सिकाइ बन्ने उल्लेख गरे।

प्रकाशित मिति : २०८२ माघ २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस