सुनसरी। युवा मैत्री घोषणापत्र ल्याउने तयारीसहित युवा पुस्तासँग निरन्तर संवादमा रहँदै आउनुभएकी सुनसरी क्षेत्र नम्बर–३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार भगवती चौधरीलाई जिताउन युवाहरूले संगठित अभियान सञ्चालन गरेका छन्।

अभियानमा विशेषगरी जेन–जी पुस्ताका युवाहरूको सहभागिता उल्लेख्य रूपमा बढ्दै गएको छ। आधुनिक समयअनुसारका डिजिटल सीप, प्रविधिमैत्री रोजगारी र घरमै बसेर आयआर्जन गर्न सक्ने वातावरण निर्माण गर्ने योजनाले चौधरीप्रति युवा पुस्ताको आकर्षण बढेको देखिन्छ।
सुनसरी बर्जु–१ की जेन–जी युवती सिता कुमारी मेहताले हालै नेकपा एमालेमा प्रवेश गर्दै वर्तमान उम्मेदवारहरूमध्ये भगवती चौधरी नै भरोसायोग्य भएको बताउनुभयो। उहाँका अनुसार महिलाको हकहितका लागि गरेको संघर्ष, विपन्न वर्गप्रति देखाएको प्रतिबद्धता र सबैका कुरा सुन्ने नेतृत्व शैलीले चौधरीप्रतिको विश्वास बलियो बनेको हो। “उहाँले व्यवहारमा देखाउनुभएको कामकै आधारमा मैले एमाले रोजेकी हुँ,” मेहताले बताउनुभयो।

मेहताजस्तै पछिल्लो समय विभिन्न स्थानका युवाहरू एमालेमा आबद्ध हुँदै ‘भगवती चौधरी जिताऔँ’ अभियानमा सक्रिय रूपमा सहभागी भइरहेका छन्। दुहबी–८ का जेन–जी युवाहरूले चौधरीको समर्थनमा युवा समूह गठन गरी घरदैलो, छलफल तथा जनसम्पर्क अभियानलाई तीव्र पारेका छन्।
युवाहरूले चौधरीलाई भाषणमुखी होइन, परिणाममुखी नेतृका रूपमा लिने गरेका छन्। दुई हजारभन्दा बढीलाई रोजगारीमा जोडेको अनुभव, प्रविधि सीपमार्फत युवालाई आत्मनिर्भर बनाउने प्रतिबद्धता तथा “घरमै रोजगारी” को अवधारणाले आफूहरूलाई प्रेरित गरेको उनीहरूको भनाइ छ।
नेतृ चौधरीले “डिजिटल सीप, घरमै रोजगारी” भन्ने नारा अघि सार्दै युवामैत्री विकासको स्पष्ट खाका प्रस्तुत गर्दै आउनुभएको छ। अघिल्लो निर्वाचनमा सुनसरी–३ बाट नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदारलाई पराजित गर्दै प्रतिनिधि सभामा निर्वाचित हुनुभएकी चौधरीले सो निर्वाचनमा ५ हजार १८८ मतको अग्रता हासिल गर्नुभएको थियो।

