काठमाडौं । सन् १९९३ मा १० वर्षका एक मलेसियाली बालकले दुई अक्षरको एउटा डोमेन नाम किन्छन् । त्यसबेला त्यो डोमेन नेमको मूल्य करिब १५०० नेपाली रुपैयाँ थियो । तर, अहिले त्यही डोमेन इन्टरनेट इतिहासकै सबैभन्दा महँगो मूल्यमा बिक्री भएको छ । एआई डटकम नामक उक्त डोमेन नाम ७० मिलियन अमेरिकी डलर अर्थात् ९ अर्ब नेपाली रुपैयाँभन्दा बढी मूल्यमा मा बिक्री भएसँगै यो इन्टरनेट जगतको सबैभन्दा महँगो सार्वजनिक किनबेच बनेको छ।
समाचार अनुसार इस्माइलले सन् १९९३ मा करिब १५ सय नेपाली रुपैयाँ बराबरको रकममा खरिद गरेको AI.com लाई उनले दशकौँसम्म सुरक्षित राखे । अन्ततः उनले उक्त डोमेनलाई विश्वकै सबैभन्दा ठूलो क्रिप्टो प्लेटफर्म Crypto.com का संस्थापक तथा सीईओ क्रिस मार्सजलेकलाई कीर्तिमानी मूल्यमा बेचेका हुन् । यद्यपि १० वर्षको बालकले सन् १९९३ मा एआई डटकम नामक डोमेन किनेको कुरालाई कतिपयले ‘डिजिटल मिथक’का रूपमा पनि हेरेका छन् । तर, अहिले उक्त डोमेनको बिक्री मूल्यले भने विश्वभर हलचल मच्चाएको छ।
एआई डटकम नामको डोमेनले इन्टरनेट जगतमा सबैभन्दा महँगो डोमेनको कीर्तिमान कायम गरेको छ । ७० मिलियन अमेरिकी डलरको उक्त सम्झौतालाई सार्वजनिक रूपमा खुलासा गरिएको डोमेन बिक्रीमध्ये सबैभन्दा महँगो सम्झौता मानिएको छ। यसअघि CarInsurance.com डोमेन करिब ४९.७ मिलियन डलरमा बिक्री भएको थियो।
क्रिफ्टो डटकम र क्रिस मार्सजलेकको कहानी
स्मरण रहोस् एक क्रिप्टोकरेन्सी विनिमय तथा वालेट प्लेटफर्म हो। यस कम्पनीको मुख्यालय सिंगापुरमा छ। विश्वभर यसका करोडौँ प्रयोगकर्ताहरू छन् र यसले क्रिप्टो ट्रेडिङ, लगानी, DeFi, NFT मार्केटप्लेस र भुक्तानी सेवाहरू प्रदान गर्दछ। क्रिस मार्सजलेक क्रिप्टो डटकम कम्पनीका सह-संस्थापक हुन्। उनलाई क्रिप्टो जगतका अग्रणी तथा सफल चाल चाल्ने व्यापारिक नेताका रूपमा चिनिन्छ। क्रिप्टो डटकमले केही वर्ष पहिले अमेरिकाको लसएन्जल्सस्थित स्टेपल्स सेन्टरको नाम परिवर्तन गरेर क्रिप्टो डटकम एरिना राखेको थियो । उक्त सम्झौतालाई विश्वमा सबैभन्दा महंगो खेलकुद रंगशाला नामाकरण सम्झौता मानिन्छ।
एआई डटकम डोमेन खरिद गर्नुको मुख्य कारण
विभिन्न रिपोर्टहरूका अनुसार, क्रिसले गतवर्ष अप्रिल २०२५ मा यो डोमेन खरिद गरेका थिए। यो सम्झौता पूर्ण रूपमा क्रिप्टोकरेन्सी मार्फत गरिएको थियो। यस्ता दुई अक्षरका डोमेन नामहरू, जुन सीधा एआई जस्तो लोकप्रिय प्रविधिसँग जोडिएका हुन्छन्, तिनीहरू सहज रुपमा बिक्रीका लागि उपलब्ध हुँदैनन्। यही कारणले गर्दा यो नाम क्रिप्टो र एआ२ दुवै उद्योगका लागि अत्यन्तै मूल्यवान बनेको हो।
क्रिसको योजना केवल डोमेन किनेर त्यसलाई होल्ड गर्ने मात्र होइन। उनी यस डोमेनलाई एउटा नयाँ एआई प्लेटफर्म सार्वजनिक गर्ने आधार बनाउन चाहन्छन्। अहिले एआई डटकम वेबसाइट चालु अवस्थामा छ र मानिसहरूले त्यहाँ गएर आफ्नो युजरनेम बनाउन सक्छन् । अर्थात् एआ२ डटकमको इमेल आईडी बनाउने विकल्प देखिन थालेको छ। क्रिस र उनको टोली एआई डटकम मार्फत एक उपभोक्ताकेन्द्रित एआई प्लेटफर्म तयार पार्ने योजनामा छ। यसलाई प्रयोगकर्ताहरूले ‘एआई एजेन्ट’ को रूपमा प्रयोग गर्न सक्नेछन्। यी एजेन्टहरूले आफै धेरै कार्यहरू गर्न सक्नेछन् । जसमा मेसेज पठाउने, एपहरू बीच अन्तरक्रिया गर्ने र स्टक ट्रेडिङमा मद्दत गर्ने लगायतका हुनेछन् ।
यस प्लेटफर्मको मुख्य उद्देश्य प्राविधिक ज्ञान नभएका सामान्य मानिसहरूले पनि सिधै एआई उपकरणहरू प्रयोग गर्न सकुन् भन्ने हो। केही रिपोर्टहरूका अनुसार, यो प्लेटफर्मले प्रयोगकर्ताहरूलाई ६० सेकेन्ड भन्दा कम समयमा आफ्नै एआई एजेन्ट बनाउने सुविधा दिनेछ।
मोनाको देखि क्रिप्टो डटकम सम्म
क्रिप्टो डटकमको सुरुवात सन् २०१६ मा मोनाको नामबाट भएको थियो । जसलाई पछि परिवर्तन गरेर Crypto.com राखिएको हो। हाल यो कम्पनीले लाखौं प्रयोगकर्ताहरूलाई ट्रेडिङ, डेरिभेटिभ्स, NFT मार्केटप्लेस, वालेट र कार्ड सेवाहरू प्रदान गरिरहेको छ। कम्पनीका सिइओ क्रिस मार्सजलेकको एआई डटकम खरिद गर्ने निर्णयलाई बजारमा उनको अर्को एउटा ठूलो ‘मार्केटिङ मुभ’ को रूपमा हेरिएको छ ।

