सुनसरी — सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा तीन सयभन्दा बढी जेनजी पुस्ताका युवाहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा आबद्ध भएका छन्। इटहरी मा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी युवाहरूले क्षेत्रीय विकास, रोजगारी र स्थायित्वका एजेन्डालाई प्राथमिकता दिँदै उम्मेदवार भगवती चौधरी प्रति समर्थन जनाएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले युवाका आकांक्षा, रोजगारी, सीप विकास र उद्यमशीलतासँग सम्बन्धित मुद्दाहरूलाई राजनीतिक प्राथमिकतामा राख्न आवश्यक रहेको बताइन्। उनले देशको वर्तमान चुनौतीपूर्ण अवस्थालाई अवसरमा रूपान्तरण गर्न युवाको सहभागिता निर्णायक हुने उल्लेख गर्दै नीति तथा कार्यक्रममार्फत युवामैत्री वातावरण निर्माणमा जोड दिइन्।
कार्यक्रम आयोजक सुनसरी ३ युवा परिचालन कमिटीका संयोजक सबिन श्रेष्ठ का अनुसार वडा नम्बर ६ देखि १५ सम्मका युवाहरूको सहभागिताले कार्यक्रमलाई उत्साहजनक बनाएको थियो। यसैगरी क्षेत्रीय निर्वाचन परिचालन कमिटी संयोजक लिलम बस्नेत ले आगामी निर्वाचनमा युवाको भूमिका महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरे।चौधरीलाई ११ हजारभन्दा बढी मतान्तरले विजयी गराउने लक्ष्य राखिएको बताउँदै त्यसका लागि युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
कार्यक्रममा सहभागी युवाहरूले स्थायित्व, विकास र अवसर सिर्जनामा केन्द्रित राजनीतिक प्रतिबद्धताले आफूहरूलाई प्रेरित गरेको प्रतिक्रिया दिएका थिए। उनीहरूले जिम्मेवार नेतृत्व चयनमार्फत क्षेत्रको दीर्घकालीन हित सुनिश्चित गर्नुपर्ने धारणा पनि व्यक्त गरेका छन्। भगवती चौधरी जनताको हरेक सुख–दुःखमा साथ दिने नेतृ भएकोले उनलाई पुनः विजयी गराए क्षेत्र मात्र नभई समग्र देशकै हित हुने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

