प्रकाश काफ्ले/काठमाडौं भक्तपुर–१ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले दशकौँदेखि कायम राखेको राजनीतिक वर्चस्व यसपटक अन्त्य भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रूकेश रञ्जित ३३ हजार ४३६ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेमकिपाका उम्मेदवार प्रेम सुवाल लाई ५ हजार २८९ मतले पछि पार्दै विजय हासिल गरे। सुवालले २८ हजार १४७ मत प्राप्त गरे। अन्य दलका उम्मेदवारहरू भने धेरै पछाडि परे। नेपाली कांग्रेसका किरण न्यौपाने ले ४ हजार २८२ मत ल्याउँदै तेस्रो स्थानमा रहे भने नेकपा एमालेका सोम मिश्र ले ३ हजार ७२१ मत पाए। यी दलहरूबाहेक अन्य उम्मेदवारहरूले आवश्यक मत नपाउँदा जमानत समेत जोगाउन सकेनन्।
भक्तपुर–१ मा नेमकिपाले २०४८ सालदेखि निरन्तर जित्दै आएको इतिहास थियो। पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ ले पाँच पटक लगातार जितेका थिए। त्यसपछि प्रेम सुवाल ले दुई निर्वाचनमा जित हात पारेका थिए। तर यसपटक देशभर देखिएको राजनीतिक परिवर्तनको लहर भक्तपुरमा पनि प्रभावशाली बन्यो।
भक्तपुर नगरपालिकामा नेमकिपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण तथा फोहोर व्यवस्थापनमा उल्लेखनीय काम गर्दै आएको छ। विशेषगरी फोहोरलाई स्रोतमै छुट्याउने र कम्पोष्ट मल बनाउने प्रणालीले भक्तपुरलाई नमुना नगरको रूपमा चिनाएको छ। यही कारण अरू स्थानीय तहका जनप्रतिनिधिहरू समेत त्यहाँको व्यवस्थापन अध्ययन गर्न पुग्ने गरेका छन्।
यद्यपि यसपटक मतदाताले नयाँ विकल्प रोजे। देशभरि सुनिएको घण्टीको राजनीतिक संकेत भक्तपुर–१ मा पनि बलियो रूपमा प्रकट भयो र नेमकिपाको लामो समयदेखिको विजय यात्रा अन्त्य भयो।

