२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

ऐतिहासिक वाम आन्दोलन जोगाउन एकता आवश्यक: पम्फा भुसाल

प्रकाश काफ्ले / काठमाडौं । नेपाल कम्युनिस्ट आन्दोलनसँग आबद्ध नेतृ पम्फा भुसालले वर्तमान राजनीतिक परिस्थितिले वामपन्थी शक्तिहरूबीच एकताको आवश्यकता अझ बढाएको बताएकी छन्। मोतीदेवी स्मृति केन्द्रले बिहीबार काठमाडौंमा आयोजना गरेको प्रेरणादायी महिलाहरूको सम्मान तथा वृत्तचित्र सार्वजनिक कार्यक्रममा बोल्दै भुसालले कम्युनिस्ट तथा वामपन्थी शक्तिहरू विभाजित भएर अघि बढेमा कसैको पनि राजनीतिक अस्तित्व टिक्न नसक्ने चेतावनी दिइन्। उनले वामपन्थी दलहरू एकताबद्ध भएर अघि बढे मात्र विगतको वाम आन्दोलनले गरेको त्याग, संघर्ष र बलिदानको औचित्य स्थापित हुने धारणा व्यक्त गरिन्।

भुसालले पछिल्लो समय नेपालको राजनीति क्रमशः सस्तो बन्दै गएको टिप्पणी गर्दै पार्टी नेतृत्व र राजनीतिक अवसर प्राप्त गर्न केवल औपचारिकता जस्तै खादा–टिका लगाएर पदमा पुग्ने प्रवृत्ति बढेको बताइन्। यस्तो अभ्यासलाई उनले राजनीतिक विकृतिको उदाहरणका रूपमा चित्रित गरिन्।

त्यसैगरी, उनले नेपालमा महिला आन्दोलनले हासिल गरेका उपलब्धिहरू लामो संघर्ष र बलिदानको परिणाम भएको उल्लेख गरिन्। आज राजनीतिदेखि न्यायपालिका, प्रशासन र सुरक्षा निकायसम्म महिलाको बढ्दो सहभागिता त्यही ऐतिहासिक संघर्षको उपलब्धि भएको उनको भनाइ थियो।

 

प्रकाशित मिति : २०८२ फाल्गुन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस