प्रकाश काफ्ले/काठमाडौँ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई ‘अखण्ड भारत’को अवधारणाअन्तर्गत भारतमा समावेश गर्ने योजना व्यक्त गरेको भन्दै सामाजिक सञ्जालमा फैलिएको भिडियो वास्तविक नभएको पुष्टि भएको छ।
तथ्य जाँच गर्दा उक्त भिडियो कृत्रिम रूपमा सम्पादन गरिएको देखिएको छ। मोदीले हालै एक प्रविधि सम्बन्धी कार्यक्रममा दिएको वास्तविक भाषणको अंशलाई परिवर्तन गरी उनले नबोलेका शब्दहरू जोडेर भिडियो तयार पारिएको पाइएको हो।
भिडियोमा नेपाललाई भारतमा गाभ्ने योजना रहेको जस्तो देखाइए पनि वास्तविक भाषणमा यस्तो कुनै अभिव्यक्ति उनले दिएका थिएनन्। प्रविधिको प्रयोग गरेर आवाज र दृश्यमा परिवर्तन गरी बनाइएको सामग्री डिपफेक भएको तथ्य पुष्टि भएको छ।
विशेषज्ञहरूले सामाजिक सञ्जालमा यस्ता भ्रामक सामग्री छिटो फैलिने भएकाले सत्यता नजाँचीकन साझा नगर्न र सचेत रहन आग्रह गरेका छन्।

