प्रकाश काफ्ले/काठमाडौं। हरि ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेमा सरकारी कर्मचारीका ट्रेड युनियन र विभिन्न दलसम्बद्ध विद्यार्थी संगठन खारेज गर्ने बताएका छन्। उनले राज्यका निकायहरूलाई दलगत प्रभावबाट मुक्त बनाउने उद्देश्यले यस्तो कदम आवश्यक पर्ने दाबी गरे। कर्मचारीतन्त्र र शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप बढ्दा कामकाज प्रभावित भएको र संस्थागत अनुशासन कमजोर भएको उनको भनाइ छ। ढकालले सरकारी कार्यालयहरूमा कर्मचारी ट्रेड युनियनका कारण प्रशासनिक कामकाजमा अवरोध आउने गरेको र सरकारी सेवा प्रभावकारी बनाउन तिनलाई खारेज गर्नुपर्ने बताए। त्यस्तै विश्वविद्यालय तथा क्याम्पसहरूमा दलसम्बद्ध विद्यार्थी संगठनहरूको राजनीतिक गतिविधिका कारण शैक्षिक वातावरण प्रभावित भएको पनि उनले उल्लेख गरे।
उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले शासनमा आएपछि प्रशासनलाई व्यावसायिक र निष्पक्ष बनाउने नीति लिनेछ। राज्यका संस्थाहरूलाई राजनीतिक प्रभावबाट मुक्त राख्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य पार्टीको रहेको उनले बताए।

