प्रकाश काफ्ले/काठमाडौँ । तपाईंले आइतबार साँझ आकाशमा चम्केर उठेको केही पक्कै पनि देख्नुभएको होला? तपाईंलाई त्यो UFO, उल्कापिण्ड,एलियन वा कुनै रहस्यमय वस्तु जस्तो लागेको पनि हुन सक्छ। तर त्यो तपाईंले सोचेको जस्तो भने होइन।आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको चम्किलो र अनौठो आकृतिले सामाजिक सञ्जालमा व्यापक चर्चा पायो। धेरैले उक्त दृश्यलाई वा रहस्यमय वस्तु हुन सक्ने अनुमान गरे पनि पछि यसको वास्तविक कारण खुलेको छ।
विशेषज्ञहरूका अनुसार उक्त दृश्य चीनले आइतबार बेलुकी प्रक्षेपण गरेको Long March-6A rocket रकेटको प्रभाव हो। चीनले उत्तर चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्र बाट Yaogan-50 02 नामक रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठाएको थियो। रिपोर्ट अनुसार उक्त उपग्रह राति करिब ९:२२ बजे प्रक्षेपण गरिएको हो। प्रक्षेपणपछि उपग्रहले आफ्नो निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरिसकेको जानकारी दिइएको छ।
वैज्ञानिकहरूका अनुसार रकेट अन्तरिक्षतर्फ जाँदा यसको माथिल्लो चरणबाट निस्किने ग्यास अत्यन्त उच्च उचाइमा फैलिन्छ। जब त्यो ग्यासमा सूर्यको प्रकाश पर्छ, त्यसले आकाशमा चम्किलो शंकुजस्तो आकृति बनाउँछ। यही कारणले नेपालका विभिन्न स्थानबाट उक्त दृश्य देखिएको हो।
उक्त उपग्रह मुख्य रूपमा भू–सर्वेक्षण, बाली उत्पादनको अनुमान तथा प्राकृतिक विपद् रोकथाम र उद्धार कार्यका लागि प्रयोग गरिने बताइएको छ।
चिनियाँ अन्तरिक्ष कार्यक्रमका अनुसार यो प्रक्षेपणलङ मार्च रकेट श्रृंखलाको ६३३औँ उडान हो।

