२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

इरान युद्धविरुद्ध उभिँदै अमेरिकी शीर्ष अधिकारी बाहिरिए, केन्टको कदमले बहस चर्कायो

प्रकाश काफ्ले / काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका अत्यन्त निकट मानिने र नेसनल काउन्टर टेररिज्म सेन्टर (NCTC) का निर्देशक जो केन्टले इरानसँगको जारी युद्धको तीव्र विरोध गर्दै मंगलबार (मार्च १७, २०२६) आफ्नो पदबाट राजीनामा दिएका छन्। ट्रम्प प्रशासनमा यो तहको उच्च अधिकारीले युद्धकै विषयलाई लिएर राजीनामा दिएको यो पहिलो घटना हो। केन्टले सामाजिक सञ्जालमा सार्वजनिक गरेको आफ्नो राजीनामा पत्रमा इरानसँगको युद्धलाई “अनावश्यक र औचित्यहीन” भन्दै कडा आलोचना गरेका छन्।

अवकाशप्राप्त ‘ग्रिन बेरेट’ सैनिक अधिकारी समेत रहेका केन्टले दाबी गरेका छन् कि इरानबाट अमेरिकाको राष्ट्रिय सुरक्षामा कुनै “तत्काल खतरा” थिएन। उनले राष्ट्रपति ट्रम्पलाई इजरायली अधिकारीहरू र अमेरिकाभित्रकै शक्तिशाली लबीहरूले “गलत सूचना” दिएर युद्धमा होमिन बाध्य पारेको आरोप लगाएका छन्। सन् २०१९ मा सिरियामा आफ्नी श्रीमती (नौसेना अधिकारी श्यानन केन्ट) गुमाएका केन्टले भावुक हुँदै लेखेका छन् कि उनी नयाँ पुस्ताका अमेरिकी सैनिकहरूलाई अर्को एउटा “अर्थहीन युद्ध” मा मर्न पठाउने कार्यलाई समर्थन गर्न सक्दैनन्।

केन्टको राजीनामा पछि प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले उनलाई “सुरक्षाको मामलामा निकै कमजोर” व्यक्तिको संज्ञा दिएका छन्। ट्रम्पले केन्टको बहिर्गमनलाई प्रशासनका लागि राम्रो पक्ष भन्दै इरान विरुद्धको कडा कदम जारी रहने संकेत दिएका छन्। यो राजीनामाले वासिङ्टनमा इरानसँगको युद्धको वैधता र यसले निम्त्याउन सक्ने मानवीय क्षतिको विषयमा नयाँ बहस सिर्जना गरेको छ।

प्रकाशित मिति : २०८२ चैत्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस