२०८३ असार ७ गते आइतवार | 2026 June 21st Sunday

शक्ति र सत्ताको उन्मादमा नमात्तिन रवि लामिछानेको चेतावनी

प्रकाश काफ्ले / काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शक्ति प्राप्त भएपछि आउने अहंकारको पट्टी आँखाबाट फुकाल्नुपर्नेमा जोड दिएका छन्। ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले आफूहरूले जनभावना विपरीत काम गरे जनताले ३६ दिन पनि धैर्य नगर्ने चेतावनी दिएका हुन्। पुराना राजनीतिक दलहरूलाई नेपाली जनताले ३४–३५ वर्ष पर्खिए पनि रास्वपाको हकमा भने जनताको चेतनास्तर निकै माथि उठिसकेकाले गल्ती गर्ने छुट नभएको उनले स्पष्ट पारे।

सभापति लामिछानेले अघिल्लो निर्वाचनमा जनताले रास्वपालाई २१ सिट मात्र दिनुको पछाडि गहिरो अर्थ रहेको विश्लेषण गरे। जनताले नयाँ शक्तिलाई नमात्तिउन् भन्नका लागि र पुराना दलहरूलाई सच्चिने अन्तिम मौका दिनका लागि विवेकपूर्ण ढंगले मतदान गरेको उनको तर्क थियो। दुई-तिहाइ बहुमत प्राप्त सरकारले समेत नागरिकको विवेकलाई चुनौती दिँदा समस्या आएको स्मरण गराउँदै उनले सांसदहरूलाई शक्तिको दुरुपयोग नगर्न र जनताको उच्च चेतनालाई सम्मान गर्दै अघि बढ्न निर्देशन दिए।

प्रकाशित मिति : २०८२ चैत्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस