प्रकाश काफ्ले / काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले हालैको निर्वाचनमा जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई विश्वास गरेको बताउँदै अन्य राजनीतिक दलका नेताहरूलाई कम्तीमा तीन महिनासम्म मौन रहन सुझाव दिनुभएको छ। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बास्कोटाले जनमतको कदर गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले जनताले जिताएको पार्टीले कसरी सरकार वा सदन चलाउँछ भन्ने कुरा उनीहरूकै कार्यक्षेत्रभित्र पर्ने टिप्पणी गर्नुभयो।
बास्कोटाले नयाँ शक्तिलाई जनताले अवसर दिएको अवस्थामा तत्कालै आलोचना गर्नुभन्दा उनीहरूको कार्यशैली हेर्नु बुद्धिमानी हुने उल्लेख गर्नुभयो। “रास्वपाले चुनाव जित्यो, अब उनीहरूले कसरी चलाउँछन् भन्ने कुरा उनीहरूकै हो। नयाँ सरकारले काम सुरु गरेको तीन महिनासम्म अरूले केही बोल्नु नै बेकार छ,” उहाँले लेख्नुभयो। उहाँका अनुसार आम जनताको रोजाइमा यसपटक रास्वपा परेको र उनीहरूले गरेका बाचाहरूलाई जनताले पत्याएका कारण अब ‘खाँबो चिथोर्ने’ अर्थात् अनावश्यक विरोध गर्ने काम बन्द गर्नुपर्छ। पछिल्लो समय निर्वाचनको नतिजालाई लिएर एमालेभित्रै विभिन्न बहस र घोचपेच चलिरहेका बेला बास्कोटाको यो अभिव्यक्ति सार्वजनिक भएको हो।

