प्रकाश काफ्ले/काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले चैत ४ गते बुधबार आफ्नो पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्यासित हार र व्यक्तिगत रूपमा समेत सर्लाही क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेशकुमार सिंहसँग १२,८५७ मतान्तरले पराजित भएपछि उनले नैतिक जिम्मेवारी लिँदै पद त्याग्ने निर्णय गरेका हुन्। विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति चुनिएका ४९ वर्षीय थापाले निर्वाचनको परिणाम पार्टीको पक्षमा नआएपछि नयाँ नेतृत्व र पुस्तान्तरणका लागि मार्गप्रशस्त गर्न उपसभापति विश्वप्रकाश शर्मामार्फत आफ्नो राजीनामा पत्र बुझाएका हुन्।
निर्वाचनमा नेपाली कांग्रेसले प्रतिनिधिसभाका २७५ सिटमध्ये प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिटमा मात्र विजय हासिल गरेको छ, जुन पार्टीको इतिहासकै सबैभन्दा कमजोर प्रदर्शन मानिएको छ। सभापति थापाको राजीनामा आए लगत्तै नेपाली कांग्रेसको संस्थापन पक्ष र प्रभावशाली नेताहरूले भने यसलाई तत्काल स्वीकृत नगर्ने संकेत दिएका छन्। आज शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा थापाको राजीनामाबारे औपचारिक छलफल हुने मुख्य कार्यसूची रहेको छ। उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरूले निर्वाचनको हार कुनै एक व्यक्तिको मात्र नभई सामूहिक जिम्मेवारीको विषय भएको र पार्टीलाई यो कठिन मोडमा एकढिक्का राख्न थापाकै नेतृत्व आवश्यक रहेको तर्क गर्दै राजीनामा अस्वीकृत गर्ने तयारी गरेका छन्।
आजको बैठकमा निर्वाचनमा पार्टीको पराजयका कारणहरूको विस्तृत समीक्षा हुनुका साथै आगामी १५औँ महाधिवेशनको कार्यतालिका र पार्टी सुदृढीकरणका योजनाहरूमाथि पनि गहन छलफल हुनेछ। यसअघि पूर्वसभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको र पार्टीभित्र आन्तरिक कलह बढ्दै गएको अवस्थामा थापाको यो कदमले कांग्रेसभित्र नयाँ राजनीतिक बहस र तरङ्ग सिर्जना गरेको छ। आम कार्यकर्ता र शुभेच्छुकहरूले भने पार्टीलाई नयाँ उर्जाका साथ अघि बढाउन नेतृत्वले कस्तो निर्णय लिन्छ भन्ने कुरालाई निकै चासोका साथ हेरिरहेका छन्।

