प्रकाश काफ्ले/काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान कार्यशैली र नेतृत्वमा सुधार नआए आगामी निर्वाचनमा एमालेको अस्तित्व निकै संकटमा पर्ने चेतावनी दिनुभएको छ। शनिबार बुटवलमा आयोजित ‘चिन्तन अभियान नेपाल’को कार्यक्रममा बोल्दै नेता पाण्डेले विगतका निर्वाचन परिणामहरूको विश्लेषण गर्दै एमालेको शक्ति क्रमशः घट्दै गएको टिप्पणी गर्नुभयो। उहाँका अनुसार २०७४ सालको निर्वाचनमा १७४ सिटसहित ‘दिग्विजय’ गरेको एमाले २०७९ मा आइपुग्दा एउटा बसमा अट्ने संख्यामा झरेको र अब पनि गल्ती नसच्याए अर्को पटक एउटा स्कुटरमा अट्ने संख्यामा मात्र सीमित हुने बताउनुभयो।
नेता पाण्डेले नेतृत्वले आफ्ना कमजोरीहरू स्वीकार नगरे र निर्मम समीक्षा नगरे आगामी चुनावमा पार्टीले उम्मेदवार समेत नपाउने खतरा औंल्याउनुभयो। उहाँले संविधानमै कुनै पनि दलको अध्यक्ष वा प्रधानमन्त्री दुई पटकभन्दा बढी हुन नपाउने व्यवस्था गर्न नसक्नु ठूलो कमजोरी भएको स्वीकार गर्नुभयो। पुराना राजनीतिक दलहरूले आफ्नो प्रवृत्ति परिवर्तन नगरे सबै मिलेर ‘सामूहिक मलामी’ जानुपर्ने स्थिति आउने भन्दै उहाँले विगतका गलत बाटोलाई सही दिशामा लैजानुपर्नेमा जोड दिनुभयो।

