प्रकाश काफ्ले / काठमाडौं। इजरायल ले लेबनान माथि व्यापक आक्रमण गरेको छ, जसले पश्चिम एशियामा तनाव फेरि चुलिएको छ। बुधबार राजधानी बेरुत लगायत विभिन्न क्षेत्रमा गरिएको बमबारीमा कम्तीमा २५४ जनाको मृत्यु भएको र १,१०० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मृतक संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। यस घटनाप्रति इस्लामिक रिभोलुशनरी गार्ड कोर्प्स (IRGC) ले कडा आपत्ति जनाउँदै इजरायलले यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ। आक्रमणको विरोधस्वरूप इरान ले रणनीतिक रूपमा महत्वपूर्ण हर्मुजको जलडमरूमध्य बाट तेल ट्यांकरहरूको आवतजावतमा रोक लगाएको घोषणा गरेको छ। अर्धसरकारी फार्स न्युज एजेन्सीका अनुसार, हर्मुज जलडमरूमध्य बन्द गर्ने निर्णय सार्वजनिक भइसकेको छ। यसअघि भने इरानले १४ दिनको युद्धविराममा सहमति जनाउँदै जलडमरूमध्य खोल्ने संकेत दिएको थियो। सोही सहमतिअनुसार बुधबार बिहान दुईवटा तेल ट्यांकरले अनुमति लिएर उक्त मार्ग पार गरेका थिए।

यद्यपि, IRGC ले युद्धविराम कायम राखिएको भए पनि आफ्नो सैन्य तयारी यथावत रहेको बताएको छ। इरान र संयुक्त राज्य अमेरिका दुबैले यस अस्थायी युद्धविरामलाई आफ्नो पक्षको सफलता भन्दै व्याख्या गरेका थिए।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू ले लेबनानसम्बन्धी मुद्दा युद्धविरामको दायराभित्र नपर्ने स्पष्ट पारेका छन्। उनको भनाइलाई समर्थन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले पनि लेबनानमा हिजबुल्लाह सँग कुनै युद्धविराम नभएको बताएका छन्।

यसअघि नवाज शरीफ ले इरानसहित पश्चिम एशियामा शान्ति कायम हुने अपेक्षा व्यक्त गरेका थिए। तर, इजरायलको पछिल्लो आक्रमणपछि क्षेत्रीय द्वन्द्व अझ फैलिने जोखिम बढेको विश्लेषण गरिएको छ।