काठमाडौं । इरानका बन्दरगाहहरू लक्षित गर्दै अमेरिकाले लागू गरेको समुद्री नाकाबन्दीको पहिलो दिनमै विश्व व्यापार र ढुवानी क्षेत्रमा व्यापक अन्योल देखिएको छ। इस्लामाबादमा भएको कूटनीतिक वार्ता निष्कर्षमा नपुगेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानतर्फ जाने–आउने जहाजहरूलाई रोक लगाउने निर्णय सार्वजनिक गरेका थिए।
यस निर्णयले विश्वकै संवेदनशील तेल ढुवानी मार्ग स्ट्रेट अफ हर्मुजमा जहाजहरूको आवागमन उल्लेखनीय रूपमा घटाएको छ। समुद्री गतिविधिसम्बन्धी तथ्याङ्कअनुसार नाकाबन्दी सुरु भएको पहिलो २४ घण्टामा अत्यन्त न्यून संख्यामा मात्र जहाजहरूले उक्त मार्ग पार गरेका छन्।
यसअघि दैनिक रूपमा १३० भन्दा बढी जहाजहरू आवतजावत गर्ने यो क्षेत्र अहिले लगभग सुनसानजस्तै बनेको छ। युनाइटेड स्टेट्स सेन्ट्रल कमाण्डले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पहिलो दिन कुनै पनि व्यापारिक जहाजले नाकाबन्दी उल्लंघन गर्न नसकेको जनाएको छ। साथै, केही जहाजहरूलाई निर्देशन दिई पुनः फर्काइएको पनि दाबी गरिएको छ।
नाकाबन्दीका बाबजुद केही जहाजहरूले भने यो मार्ग प्रयोग गरेका छन्। इरानसँग सम्बन्धित भनिएका केही ट्याङ्करहरूले उक्त जलक्षेत्र पार गरे पनि ती जहाजहरू इरानी बन्दरगाहतर्फ गइरहेका थिएनन्। उदाहरणका रूपमा पानामाको झण्डा बोकेको “पिस गल्फ” नामक ट्याङ्कर युनाइटेड अरब इमिरेट्सको हमरिया बन्दरगाहतर्फ गइरहेको देखिएको छ। त्यसैगरी, अमेरिकी प्रतिबन्धमा परेको चिनियाँ स्वामित्वको “रिच स्टारी” जहाज नाकाबन्दीपछि खाडी क्षेत्रबाट बाहिरिने पहिलो जहाज बनेको छ, जसमा ठूलो परिमाणमा मेथानोल बोकेको र चिनियाँ चालक दल रहेको जनाइएको छ।
यस घटनाक्रमप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ। चिनियाँ विदेश मन्त्रालयले अमेरिकाको कदमलाई ‘जोखिमपूर्ण र गैरजिम्मेवार’ भन्दै यसले पश्चिम एसियामा तनाव थप बढाउने चेतावनी दिएको छ। तर, आफ्ना जहाजहरू उक्त मार्ग प्रयोग गरिरहेका छन् वा छैनन् भन्ने विषयमा भने स्पष्ट जानकारी दिएको छैन।
यसबीच, अमेरिकी पक्षले जारी गरेको सूचनामा मानवीय सहायता बोकेका जहाजहरूलाई भने नाकाबन्दीबाट आंशिक छुट दिइने उल्लेख गरिएको छ।

