काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकैदिनमा सत्ता उल्ट्याउन सकिने भन्दै वामपन्थी शक्तिलाई चारैतिरबाट घेरा हाल्न आह्वान गरेका छन्। पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित विचार गोष्ठीमा उनले प्रतिक्रान्ति अझै पूरा नभएको भन्दै साझा न्यूनतम कार्यक्रम बनाएर राजधानी काठमाडौंमा ५–७ लाख र हरेक जिल्ला सदरमुकाममा १–१.५ लाख कार्यकर्ता उतार्न सके सरकार उल्ट्याउन सकिने बताए।
उनले “सदनमा लड्ने, निर्वाचनबाट लड्ने, चारैतिरबाट घेरा हाल्ने” भन्दै तत्काल सहकार्य र कार्यगत एकताको आवश्यकता औंल्याए। पार्टी एउटै बनाउने सम्भावना तत्काल नभए पनि इमानदार सहकार्य भए भविष्यमा एकता सम्भव हुने धारणा राखे। प्रचण्डले ठुल्ठूला गफ छाडेर अब एक्सनमा जानुपर्ने समय आएको उल्लेख गर्दै ढिलो गरे अर्को प्रतिक्रान्तिमा उठ्नै नसक्ने गरी थेचारिने चेतावनी दिए।
प्रकाशित मिति : २०८३ साउन ८ गते शुक्रवार

