२०८३ साउन १९ गते मङ्गलवार | 2026 August 4th Tuesday

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई हप्कीदप्की गरेको भिडिओमा के छ ?

काठमाडौं – सत्तारूढ रास्वपाका सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका नेपाली सेनाका एक क्याप्टेनलाई लिखित आदेशबिना ब्यारेकको पर्खाल भत्काउन दबाब दिएको भिडिओ सार्वजनिक भएपछि उनको व्यापक आलोचना भइरहेको छ। गोकर्णेश्वर–४ मा सोमबार ट्र्याक खोल्ने क्रममा भएको वादविवादको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको हो।
भिडिओमा क्याप्टेनले ‘चेन अफ कमान्ड’ अनुसार लिखित आदेश माग्दा पाण्डेले ‘चिठ्ठी आउँदै गर्छ, पर्खाल भत्काउनू’ भन्दै हप्कीदप्की गरेको देखिन्छ। क्याप्टेनले वन्यजन्तु र सुरक्षा समस्या औंल्याए पनि पाण्डेले ‘यो डोजर रोकिँदैन’ भन्दै अडान लिएका थिए।
पाण्डेले पछि प्रतिक्रिया दिँदै करिडोर खोल्न स्थानीय जनताको लामो माग पूरा गर्न बागमती सभ्यता विकास समितिको टोलीसँगै गएको र सेनासँग समन्वयमा कमजोरी भएको बताए। उनले सेनाप्रति सम्मान रहेको स्पष्ट पारे।
नेपाली सेनाका प्रवक्ता सहायक रथि राजाराम बस्नेतले घटनाबारे स्थानीय निकायसँग आवश्यक समन्वय भइरहेको बताए। वडाध्यक्ष जयराम महतका अनुसार बाटो खुलेपछि गोकर्णेश्वर, काठमाडौं पूर्वी भेग, सिन्धुपाल्चोक र नुवाकोटका बासिन्दालाई ठूलो राहत पुग्नेछ।

प्रकाशित मिति : २०८३ साउन १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस