२०८३ असोज ८ गते बिहिवार | 2026 September 24th Thursday

भारी वर्षाको जोखिमपछि यी सडकमा राति सवारी र यात्रामा रोक !

काठमाडौं । लगातारको वर्षा र आगामी दिनमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमानसँगै बाढी–पहिरोको जोखिम बढेपछि विभिन्न जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। धादिङमा बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द गरिएको छ। दाङका तुलसीपुर–कपुरकोट, भालुवाङ–गनाहा खोला, घोराही–होलेरी, घोराही–मुर्कुटी र तुलसीपुर–कालीमाटी सडकमा बिहीबारदेखि आइतबारसम्म हरेक दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सवारी रोकिएको छ।
पाँचथरमा मेची राजमार्ग, तमोर करिडोर, मध्यपहाडी लोकमार्ग र भेडेटार–रवि–राँकेलगायत सडकमा असोज ८ देखि ११ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ। चितवनमा पृथ्वीराजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा पनि राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी रोकिएको छ।
यसैबीच पाल्पामा पहिरोका कारण सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र तथा आर्यभञ्ज्याङ–रामपुर सडक अवरुद्ध भएका छन्। प्रशासनले जोखिमयुक्त क्षेत्रमा नजान, लामो दूरीको यात्रा नगर्न र आधिकारिक सूचना पालना गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस