काठमाडौं । नारायणी नदीले विभिन्न स्थानमा खतराको बिन्दु पार गरेको छ । देवघाटमा बाढी बढिरहेको छ । हाल त्यहाँको जल सतहले खतरा तह पार गरिसकेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीमा समाचार तयार पार्दासम्म पानीको बहाव १०.८ मिटर पुगेको छ । जबकि यहाँको खतराको तह ९ मिटर र चेतावनीको तह ७.४ मिटर हो ।
नदीको बहावले खतराको तह पार गरेकोले त्यस क्षेत्रमा डुबानको उच्च जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ । नदीको बहाव अझै बढिरहेकोले साँझैसम्म सतर्कता अपनाउने सरोकारवालाले आग्रहर गरेका छन् ।
यस्तै, पर्वतस्थित कालीगण्डकी, लमजुङस्थित चेपेखोला, म्याग्दीको मंगलघाट, चितवनकै रिउखोलामा पनि पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ । खतराको तह पार गरेका सबै नदी नारायणी बेसिनका स्टेशन रहेका क्षेत्रका हुन् ।
प्रकाशित मिति : २०८३ असोज ११ गते आइतवार

