नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन्। नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा पूर्व–पश्चिम राजमार्गबाट नालामा खसेको प्रहरीले जनाएको छ।
बसमा चालकसहित १८ जना सवार रहेका थिए। दुर्घटनामा ६ जनाको मृत्यु, १० जना घाइते र दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ। मृतकमध्ये जाजरकोट भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ भने अन्य पाँच जनाको सनाखत हुन बाँकी छ। घाइतेहरूको उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ। घाइतेमध्ये गोरखा, अछाम, बर्दिया, बाजुरा, बाँके, ललितपुर र सल्यानका यात्रु रहेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति : २०८३ असोज १७ गते शनिवार

