काठमाडौं । रोजगारका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्नका लागि नेपालमैं सुनौलो अवसर आएको छ । विगत ६ महिना लामो सफल परिक्षण पछि “नेपालकै पहिलो व्यवसायिक सामाजिक सञ्जाल” रोलिङ नेक्सस डट कम को औपचारिक शुभारम्भ भएको हो ।

शुभारम्भ कार्यक्रममा बोल्दै रोलिङ नेक्ससका अध्यक्ष अनुप जंगमले ३ वटा मोबाइल एप्लिकेसन सार्वजनिक गर्न पाउँदा साह्रै गौरभ महुसस गरेको जानकारी दिनुभयो । कार्यक्रममा श्रममन्त्री गौरीशंकर चौधरी, पूर्वसेनापति रुकमाङ्गद कटवाल, राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाल, सहभागि भ्रष्टाचारविरोधी अभियान्ता एवं वरिष्ठ अधिवक्ता भरत जंगमलगायतको उपस्थिति रहेको थियो ।
रोलिङ प्लान्स प्राइभेट लिमिटेडले आफ्नो ब्राण्डको रुपमा स्थापना गरी बजारमा ल्याएको व्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस डट कमको मुल नारा “नयाँ सम्भावनाहरुको सञ्जाल” रहेको छ । यस सञ्जालको अवधारणालाई मुख्यत ४–ई को सिद्धान्त अनुरुप संचालन गरिएको छ ।
पहिलो अवधारणा रोजगारी सिर्जना गर्नु रहेको छ । कम्पनीले रोजगारी सृजना तथा प्रवद्र्धन र तत् सम्बन्धि दक्षता अभिवृद्धि गर्ने उदेश्य लिएको छ । दोस्रो उद्यमशीलता अवधारणा भएको अध्यक्ष जंगमले बताउनुभयो ।दोस्रो अवधारणा अनुसार पियर टु पियर सेयर्ड र गीग इकोनोमीको अवधारणमा रहेर अवसर र सम्भावनाहरुको खोजी, उद्यमशीलता प्रवद्र्धन तथा व्यवसायिक वृद्धी गर्नु रहेको छ ।
रोलिङले तेस्रो अवधारणाका रुपमा सशक्तीकरणलाई राखेको छ । यस अन्तरर्गत महिला, विपन्न समूह, फरक सक्षमता भएका र सेवानिवृत समुहलाई पनि अवसर र सम्भावना दिनका लागि विशेष पेजमार्फत प्रवद्र्धन गर्ने रहेको छ । यस्तै चौथोमा संलग्नतास् पनि रहेको छ । यसमार्फत समान सामाजिक वा व्यवसायिक रुचि, गतिविधि, पृष्ठभूमी भएकाहरुले एकै सञ्जालमा रही सम्बन्धको विकासगरी साझेदारी गर्ने प्लेटफर्मउपलब्ध गराउनु रहेको छ ।
व्यवसायिक बाहेक पनि सञ्जालमा खेलकुदका गफगाफमा सहभागिता, फोटो वा भिडियो प्रतिस्पर्धा, दैनिक क्वीज जस्त सामाग्रीबाट मनोरञ्जन प्रदान गरिने जनाइएको छ । रोलिङ नेक्ससको मुल एप बाहेक, अन्य दुई (रोलिङ कर्मशील स्वदेश, रोलिङ कर्मशील विदेश) मोवाइल एप्लिेकसन पनि सार्वजनिक गरिएको छ ।
अध्यक्ष अनुप जंगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कर्मशील शब्दले कर्म र श्रममा निर्भर हुने श्रमिकलाई जनाउँदछ र यसलाई प्रयोगकर्ताको प्राथमिकता अनुसार स्वदेश र विदेशमा विभाजित गरिएको छ। रोलिङ कर्मशील स्वदेश एपबाट दक्ष, अदक्ष श्रमिकलाई उपयोगी हुने रोजगारी र अन्य अबसरका जानकारी मोवाइल नोटिफिकेसन मार्फत पाउन सकिनेछ । साथै स्वतन्त्र रोजगारी गर्न चाहनेहरुका लागि आफ्नो सीप अनुसारको घर सेवा तथा आफ्नो सवारी साधन भएकाले वितरण सेवाको अवसर खोजी गर्न सकिनेछ ।’
मुलुकमा रोजगारी र उद्यमशीलताका अवसर उत्साहजनक नरहेको यस अवस्थामा नयाँ सम्भावना र अवसरहरुलाई एउटै प्लाटफर्ममा समेट्ने उद्धेश्यले हामीले रोलिङ नेक्सस प्रारम्भ गरेको अध्यक्ष जंगमले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘१८ वर्षदेखि ६५ वर्षका उमेर समुहमा पर्ने करिव २ करोड श्रम शक्तिका रुपमा रहेका नेपाली नागरिकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एउटा पूर्ण व्यवसायिक सामाजिक सञ्जालको प्लाटफर्म दिई उत्पादनशीलता र रचनात्मक कार्यमा लगाउन हामी प्रतिवद्ध छौं ।’
रोलिङ कर्मशील विदेश एपबाट भरपर्दो वैदेशिक रोजगारीको खोजि, विदेश बसाईका क्रममा परेका समस्याको समाधानका लागि पहल र स्वदेश फर्केर केही गर्न चाहानेका लागि अवसरहरुको लाभ लिन सकिनेछ । रोलिङ नेक्ससको एप समाजका हरेक वर्गलाई सम्बोधन गर्न सकोस् भनी बिभिन्न ७ वटा समुहहरुमा विभाजन गरिएको छ ।
- रोलिङ जबः स्वदेशी रोजगारी र अवसरको खोजी तथा सीप अभिवृध्दि गर्नको लागि ।
- रोलिङ टेण्डरः व्यवसायीले आफ्नो काम अनुरुपको अवसर हेरी सम्पुर्ण विड तथा टेन्डर खोजी, दर्ता तथा व्यवस्थापन अनलाइन मार्फतनै पुर्ण सम्पन्न गर्नका लागि ।
- रोलिङ फ्रिलान्सः विदेश अथवा स्वदेशबाट माग आउने छोटो वा लामो कार्यहरुको घरै बसी गर्न मिल्ने स्वतन्त्र रोजगारी (Freelance Work) को अवसरको खोजी गर्नका लागि ।
- रोलिङ क्याट (Computer Adaptive Test): आफ्नो सीप, शैक्षिक तह तथा कार्यक्षेत्र अनुरुपको बौद्धिक परिक्षण अनलाइनमै गर्न तथा कम्पनी तथा शैक्षिक संस्थाले छनौट प्रक्रियाका लागि गर्ने परिक्षा तथा मुल्यांकनका कार्य अनलाइनबाट संचालन गर्नका लागि ।
- रोलिङ इभेन्टः भर्चुअल कक्षा कोठा, भर्चुअल मेला, विज्ञबाट परामर्श, बिभिन्न कार्यक्रम, सेमिनारको अनलाइन मार्फत प्रबर्धनको लागि ।
- रोलिङ छलफलः आफ्नो कार्यक्षेत्र र रुचीको क्षेत्र अनुरुपको विभिन्न विषय सम्बन्धित लिखित प्रश्नोतर तथा छलफलमा सहभागी भई बौद्धिक बिकास गर्नका लागि ।
- रोलिङ बजारः रोलिङ बजार मार्फत नेपाली घरेलु उद्यमीलाई प्रवद्र्धन गर्ने काम हुनेछ । अन्य ई–कमर्सभन्दा फरक हामी यसमा नेपाली घरेलु उद्यमीका सामानहरुको मात्र बजार प्रवद्र्धन गर्दछौं ।
यो व्यवसायिक सामाजिक सञ्जाल प्रयोग गर्न ब्यक्ति र व्यवसायले रोलिङ नेक्सस डट कममा गई वा रोलिङ नेक्ससको मोबाइल एप डाउनलोड गरि आफ्नो प्रोफाइल बनाउनुपर्ने हुन्छ । एकपटक प्रोफाइल तयार गरिसकेपछि खोजे अनुसारको सेवा प्राप्त गर्न सहज हुनेछ ।

