२०८३ असार १५ गते सोमवार | 2026 June 29th Monday

कांग्रेसका चिरीबाबुलाई धर्म संकट, आर्थिक अपारदर्शीको प्रमाण सहित दर्ता भयो उजुरी

काठमाडौ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले पठाएका ललितपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार चिरीबाबु महर्जनलाई संकट आइ परेको छ ।

उनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारसँग आमनेसामने हुन नपाई उम्मेदवारीमा नै उजुरी खेपेका छन् । उनीमाथी आर्थिक अपरादर्शीको प्रमाणसहितको गम्भीर उजुरी परेको छ ।

पाँच वर्ष पहिले भएको स्थानीय चुनावमा उनी ललितपुर महानगरपालिका मेयरमा विजयी भएका थिए ।

यो कार्यकालमा उनले आर्थिक रुपमा पारदर्शी बन्न नसकेको उजुरी परेको छ ।

उनले बेरुजु फछर्यौट नगरेको उजुरी निर्वाचन आयोगमा दर्ता भएको हो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २० बमोजिम गोपाल डंगोलले उनी बिरुद्ध उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा चिरीबाबुले ललितपुर महानगरपालिकाको नेतृत्व गर्दा महालेखा परीक्षकको प्रतिवेदनमा नै अस्वभाविक खर्च गरेको, बेरुजु फछर्यौट नगरेको उल्लेख छ ।

महालेखा परीक्षकको आ.व. ०७३ / ०७४ को ५५औं, आ.व. ०७४ / ०७५ को ५६औं प्रतिवेदनको पेज नं.४४९ मा ७१ करोड ६५ लाख ५५ हजार बढी खर्च गरेको प्रमाण उजुरीमा पेश गरिएको छ ।

यसैगरी पेज नं. ४६६ बुँदा नं. ७ मा नगद र मौज्दात भएको ७ करोड ६४ लाख १८ हजार र ६ करोड ६५ लाख बेरुजु रहेको उल्लेख छ । यसैगरी आर्थिक बर्ष ०७४ / ०७५ र ०७६ / ०७७ को क्रमश ४८ करोड ४६ लाख १० हजार र ८८ करोड २५ लाख र ६७ करोड २९ लाख ६२ हजार रुपैयाँ बेरुजु फछर्यौट नभएको प्रमाण उजुरीमा पेश गरिएको छ ।

साथै आर्थिक बर्ष ०७७ / ०७८ को लेखापरीक्षण समेत बाँकी रहेको उजुरीमा प्रमाणसहित किटान गरिएको छ । उनीसँग व्यक्तिगत र संस्थागत नै बेरुजु रहेको उजुरीमा किटान गरिएको छ ।

यसैगरी राष्ट्रिय खेलकुद परिषद्को कर्मचारी भइ सरकारी सेवा सुविधा लिएर अहिलेपनि (राखेप) सातदोवाटोमा कार्यरत रहेको दावी सहितको अर्को उजुरीपनि परेको छ ।

सरकारी सेवा सुविधा लिने व्यक्ति कुनैपनि पदमा कार्यरत रहेको अवस्थामा राजीनामा नगरी पुनः स्थानीय तहको कुनैपनि पदमा उम्मेदवार बन्न नपाउँने नियम छ ।

यसैगरी बेरुजु फछर्यौट नगरी कुनैपनि पदमा उम्मेदवार बन्न नपाउँने ऐनमा व्यवस्था छ ।

यो उजुरी तथ्यगत ठहरीएमा चिरीबाबुको उम्मेदवारी खारेज हुनसक्छ । यो उजुरीले उम्मेदवारी नै खारेज नभएपनि उनको छवी भने धमिलिएको छ । आर्थिक रुपमा पारदर्शी छैनन् भन्ने तथ्य यो उजुरीले प्रष्ट पारेको छ ।

यसपालि चिरीबाबु पाँच दलीय सत्ता गठबन्धनबाट ललितपुर मेयरमा साझा उम्मेदवार छन्। एमालेका व्यञ्जनकारलाई पनि राप्रपा नेपाल, परिवार दलको साथ छ।

सत्ता गठबन्धनबाट उपमेयरमा नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्य उम्मेदवार छन् भने एमालेबाट ललितपुरमा मञ्जली शाक्यले उम्मेदवारी दर्ता गरेकी छन्।

चिरिबाबुले ०७४ को चुनावमा झिनो मतान्तरले मात्र ललितपुरको मेयर जितेका थिए। महर्जनले २४ हजार छ सय ४२ मत ल्याउँदा हरिकृष्णले २४ हजार तीन सय १६ मत मात्र ल्याएका थिए।

 

प्रकाशित मिति : २०७९ बैशाख १३ गते मङ्गलवार