२०८३ असोज ४ गते आइतवार | 2026 September 20th Sunday

विचौलीयाले भारतको बन्दागोभी काठमाडौंमा ५० रुपैयाले बेच्छन्, नेपाली किलोको एक रुपैयाँमापनि नकिनेपछि…

दाङ । गत वर्षको यही सिजनमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मोतीपुरका किसान राजेश डाँगीको तरकारी बारीमा व्यापारीहरू आफैं आएर तरकारी किनेर लैजाने गर्थे। आम्दानी राम्रो हुन्थ्यो। त्यही आशले यो वर्ष उनले बढी क्षेत्रफलमा बन्दागोभी लगाए। उनले १५ कठ्ठा क्षेत्रफलमा बन्दागोभी र अन्य जमिनमा बेमौसमी मकै रोपेका थिए।

तर यतिखेर उत्पादन भएको तरकारी नै बिक्री नभएपछि बारीमा गाईवस्तुलाई चराउन बाध्य भएका छन्। विगत दश वर्षयता सिजन अनुसार व्यावसायिक तरकारी खेती गर्दै आएका राजेशले खेतबारीमा अहिले कम्तीमा पनि साढे दुई लाखदेखि चार लाखसम्मको बन्दागोभी त्यसै खेर गइरहेको बताए। ‘पाँच रुपैयाँ केजी बिक्री भएको भए पाँच लाख बढी हुन्छ,’ उनले भने, ‘त्योभन्दा कम मूल्य दुई तीन रुपैयाँमा बिक्री भएको भए पनि तीन लाख बढी हुन्थ्यो।’ तर लगाएको बन्दागोभी बिक्री नभएपछि चर्को गर्मीका कारण सुक्दै जान थालेको हुँदा पशु चौपायालाई चराउन उपयुक्त हुन ठानेर चराउन थालेको उनले बताए।

‘केजीको एक रुपैयाँमा पनि कोही खोज्न आएनन् र त्योभन्दा कममा बेच्नु र नबेच्नुको कुनै अर्थ हुन्न,’ उनले भने, ‘बरू लालाबाला चराए उनीहरू त मोटाउलान् भन्ने लागेर चराउन थालेका हौं।’ ‘इण्डियाको तरकारीका कारण हाम्रो स्थानीय उत्पादनले बजार पाउँदैन,’ उनले थपे, ‘हाम्रो क्षति हुँदा राज्य तहबाट कुनै राहत वा अनुदानको व्यवस्था नहुँदा मन खिन्न हुन्छ।’

 

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस