२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘साउदीमा कमाएर घरको ऋण तिर्छु भन्नुहुन्थ्यो, गएको एक वर्षपछि सात बर्ष भयो आफैँ हराउनुभयो’

खोटाङ । मेरो नाम कुमारी बिक हो । घर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बुइपा हो । मेरा श्रीमान् शुक्र विश्वकर्मा २०७३ सालमा रोजगारीको सिलसिलामा साउदी अरेबिया जानुभएको थियो । उहाँ विदेश जानुको एउटै उद्देश्य घर बनाउँदा लागेको ऋण तिर्नु थियो । घर सल्लाहमा नै विदेश जानुभएको थियो । तर खै के भयो भयो गएको एक वर्षपछि त फोन नै आउन छाड्यो । उहाँको काम र कमाइ राम्रो नै थियो ।

तर एक दिन ‘अबदेखि मैले कम्पनी छाडेँ अब म केही गर्न सक्दिन’ भन्नुभयो । म नेपाल फर्कन पनि सक्दिन भन्नुभएको थियो । त्यस दिनदेखि के भयो कुन्नी न फोन आयो न त आजका दिनसम्म मान्छे नै आउनुभयो । उहाँ सम्पर्कविहीन भएपछि साहुहरूले घर घेर्न थाले । कि त घर छाड् कि त पैसा तिर भनेपछि मैले घर नै छाडिदिएँ ।

घर बनाउँदा र उहाँ विदेश जाँदा गरी १० लाख रुपैयाँ ऋण लागेको छ । एक मनमा श्रीमानको चिन्ता छ त अर्को मनमा ऋणको । तर उहाँको खबर मात्र पाउन पाए पनि जसोतसो ऋणको व्यवस्थापन गर्नुहुन्थ्यो भन्ने मनमा लाग्छ । घरमा दुई छोरा र एक छोरी छन् । बुवाकै पिरले उनीहरू पनि डुबेका छन् । बुवा कहिले आउँछन् भनेर बाटो हेरिरहन्छन् । ऋण तिर्न नसकेर भएको घर पनि साहुले लिएका छन् । मेला मजदुरी गरेर मैले चार जनाको ज्यान पालेर बसेकी छु । उहाँ साउदीमा हुनुहुन्छ भने जसरी पनि घर आउनुहोस् । पैसा चाहिँदैन । तपाईँ भए बाँकी समस्या त जसोतसो समाधान गरौँला ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस