२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उदयपुरमा बिहे गरेको ६ महिनापछि श्रीमती पुरुष भएपछि…!

काठमाडौं । ‘श्रीमती पुरुषमा परिणत भएको’ भन्दै उदयपुरका एक युवाले प्रहरीमा उजुरी दिनुभएको छ ।

जिल्लाको बेलका नगरपालिका ६ बबलाका २८ वर्षीय नम्बर राईले ६ महिना अघि बिहे गरेर ल्याएको श्रीमती पुरुषमा परिणत भएको भन्दै बुधबार इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिनुभएको हो ।

राईले भोजपुरको रामप्रसाद राई गाउँपालिका ८ की युवतिसँग ६ महिनाअघि प्रेम विवाह गरेर घर भित्र्याउनुभएको थियो । तर, अहिले आएर एकाएक श्रीमती पुरुष भएको भन्दै आफूसँगै ल्याएर उजुरी दिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।

इप्रकाले दुवैलाई सँगै राखेर छलफल गराउने तयारी गर्दै गर्दा एक्कासि श्रीमती अस्वस्थ्य भएपछि उपचारार्थ धरान पठाइएको छ। घट्नाको वास्तविकता पत्ता लगाउन छलफल गराउने तयारी भइरहेका बेला एक्कासि श्रीमती बेहोस भएर बोमिट गरेपछि नगर अस्पताल पठाएकोमा उच्च रक्तचाप (हाई ब्लडप्रेसर) धेरै देखिएपछि एम्बुलेन्समार्फत बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।

अनुसन्धानमा खट्ने प्रहरीका अनुसार महिला बन्ने व्यक्ति ३१ वर्षीय राजु राई हुनुहुन्छ । झट्ट हेर्दा पूर्ण रुपमा महिला देखिने उहाँ वास्तवमा भने पुरुष भएको अनुसन्धानबाट खुलेको छ।

‘शरीर, पहिरन हुलिया सबै हेर्दा पूर्ण महिला देखिए पनि अनुसन्धान गर्दा उहाँ पुरुष प्रमाणित हुनुभयो’ अनुसन्धानमा खट्ने प्रहरी भन्नुहुन्छ ‘लामो कपाल, नाक कान छेँडेर गहना लगाएको, शारीरिक बनौट र पहिरनले पुरुष हो भन्ने कतै शंका गर्ने ठाउँ छैन।’

प्रहरीमा उजुरी दिनुअघि नम्बरले नगरपालिकाको न्यायिक समितिमा उजुरी दिनुभएको थियो । तर, नगरपालिका नीति कार्यक्रम बनाउने चटारोमा रहेको र वास्तविकता पत्ता लगाउन प्रहरीको सहयोग चाहिने भन्दै न्यायिक समितिले इप्रकामा पठाएको थियो।

अहिलेसम्म सँगै घरजम गरिबसेका उहाँहरु ६ महिनासम्म ओछ्यान साझा नगरेपछि श्रीमान्लाई शंका लागेर गोप्य अंग हेर्दा श्रीमती महिला नभएर पुरुष भएको ठहर भएपछि प्रहरी गुहार्न आएको बताइएको छ।

बेलका ६ का वडाध्यक्ष वसन्त मगरले महिलाको भेषमा राजुले ठगी गर्न बिहेको नाटक गरेको हुनसक्ने बताउनुभयो । मगरका अनुसार राजुले नम्बरसँग प्रेमको नाटक गर्दै सुरुमै केही रकम लिएको र ६ महिनाअघि बिहेको नाटक गर्नुभएको थियो । बिहे गरेर घर आए पनि किराँती संस्कार अनुसार चुला (पितृ देवता) मा पुजा कर्म नगरेसम्म सँगै सुत्न नहुने भन्दै श्रीमान्सँग अलग रहँदै आएको रहस्य अहिले खुलेको वडाध्यक्ष मगरले बताउनुभयो ।

घर भित्र्याएको ६ महिनासम्म ओछ्यान साझा नगरेपछि गोप्य अनुसन्धान गर्दा उहाँको असली रहस्यको पर्दा खुलेको हो। वडाध्यक्ष मगरका अनुसार नक्कली श्रीमती राजुले नम्बरको २ लाख ७० हजार रकम हिनामिना गरेको खुलेको छ।

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस