२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

सन्दीप लामिछानेले विश्वकप छनोट खेल्ने बाटो खुल्यो, भोलि नै दक्षिण अफ्रिका जाने

Sandeep Lamichane

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दीप लामिछानेले विश्वकप छनोट खेल्ने पक्का भएको छ। मुद्दाको सैफलामा अदालतले ढिलाई गरेपछि सन्दीपले जिम्बाबेमा हुने विश्वकप छनोट खेल्ने–नखेल्नेमा अन्योल सिर्जना भएको थियो। आइतबार अदालतले सन्दीपविरुद्ध लागेको मुद्दाको अर्को पेशी असार २९ का लागि तोकेपछि उनले विश्वकप छनोट खेल्ने पक्का भएको हो।

अदालतको यस्तो निर्णयसँगै नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई भोलि नै दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ। नेपाली टिम भने गत मंगलबार नै दक्षिण अफ्रिका गएको थियो । सन्दीप भने मुद्दाका कारण रोकिएका थिए । प्रत्येकपटक पेशी तोकिएको २१ दिनभित्र अनिवार्य अदालत उपस्थित हुनुपर्ने प्रावधानका कारण सन्दीप टिमसँगै जान पाएका थिएनन्।

सन्दीपलाई दक्षिण अफ्रिका र विश्वकप छनोटमा पठाउने तयारी स्वरुप उनका वकिलहरूले अर्को पेशी डेढ महिना पछाडि सार्न आइतबार बिहानै जिल्ला अदालत काठमाडौंमा निवेदन दिएका थिए।

सोही अनुसार अदालतले सन्दीपको पेशी तोकेको हो। सन्दीपसँगै मुख्य प्रशिक्षक मोन्टी देसाई पनि दक्षिण अफ्रिका जाने छन्। भिसा नआउँदा उनी टिमसँगै दक्षिण अफ्रिका जान पाएका थिएनन्। नेपाली टिम अहिले दक्षिण अफ्रिकामा प्रशिक्षण गरिरहेको छ। त्यहाँ नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग अभ्यास खेल खेल्ने तालिका छ। त्यसपछि नेपाली टिम विश्वकप छनोटका लागि उतैबाट जिम्बाबे जाने छ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस