२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

कम्पनीको कारोबार बैंकिङ प्रणालीबाट गर्नुपर्ने

काठमाडौं । अब सेयरधनीले कम्पनीलाई सेयर बापतको चुक्ता रकम दाखिला गर्दा कम्पनीको खातामा बैंकिङ प्रणालीमार्फत् चुक्ता गर्नुपर्ने भएको छ । कम्पनी रजिष्ट्रार कार्यालयले कम्पनीको सेयर बाँडफाँट, किनबेच, लगत, चुक्तालगायत व्यवस्थापन लगायतमा संशोधन गर्दै सबै काराबोर बैंकिङ प्रणालीबाट गर्नुपर्ने व्यवस्था गरेको हो।

१० भदौमा बसेको कम्पनीको बैठकले कम्पनी ऐन २०६३ को दफा १६ तथा दफा १७८ ले दिएको अधिकार प्रयोग गरी यस्तो संशोधन गरेको हो । कम्पनीको दर्ता, किनबेचलगायत आर्थिक कारोबार हुने व्यवस्थालाई थप विश्वासिलो बनाउन तथा बैंकिङ प्रणालीमा आबद्ध गर्दै लैजाने गरी प्रावधानहरूमा संशोधन गरिएको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ ।

प्राकृतिक व्यक्तिले १० लाख रुपैयाँभन्दा कम मूल्यको सेयर खरीद बिक्री गर्दा नगदै कारोबार गर्न सकिने छ भने बैंक स्टेटमेन्ट नभएको खण्डमा पनि अभिलेख स्वीकार गर्न सकिने कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार १८ भदौ २०८० पछि स्थापना भएका कम्पनीहरूले प्रथम वार्षिक साधारणसभा गर्नुअगाडि नै अनिवार्यरूपमा सेयर बाँडफाँट गरी कबुल गरेको सेयर रकमको पूरा वा आंशिक रुपम चुक्ता गरी सेयर लगत अभिलेख गराउनुपर्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस