२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

प्रभु बैंकको क्यूआर कोडमा स्मार्ट अडियो अलर्ट डिभाइस जडान

काठमाडौँ। प्रभु बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा अन्तर्गत क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको व्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषता सहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ। प्रभु बैंकको क्यूआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेण्टहरूसँग रहेको क्यूआर कोड मार्फत सेवाग्राहीले भुक्तानी गर्दा एसएमएस वा इमेल अलर्ट आउने गरेकोमा अब त्यसको अतिरिक्त स्मार्ट अडियो अलर्ट डिभाइसबाट कारोबार सफल हुने वित्तिकै सम्बन्धित ग्राहकले भुक्तानी गरेको रकम आवाजबाट निश्चित हुने सुविधा थप भएको छ।

डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइसको सुरुवात गरेको बैंकले जनाएको छ। यस नवीनतम् प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोडमार्फत भुक्तानी गर्नासाथ मर्चेण्ट तथा ग्राहकहरूले रकम भुक्तानी सफलता पूर्वक भएको सूचना आवाज मार्फत तत्काल प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

प्रभु बैंकले फोनपे पेमेन्ट सर्भिसेस लिमिटेडसँगको सहकार्यमा ल्याएको यस डिभाइसमा फोनपे नेटवर्कमा आवद्ध क्यूआर कोडमा भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ। फोनपे नेटवर्कमा पहिलो पटक उपलब्ध यस सुविधा नेपाल क्लियरिङ हाउस लिमिटेडको नेपाल पे नेटवर्कमा आवद्ध क्यूआरमा भने यस अघिदेखि नै व्यवस्था मिलाइ सकिएको बैंकले जनाएको छ। क्यूआर कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने मात्र नभई समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यो सेवा थप विश्वसनीय सावित हुने बैंकले विश्वास लिएको छ।

 

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस