२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि नेपाल र रोमानियाबीच श्रम समझदारी

असोज २०, २०८०, शनिबार , काठमाडौँ । नेपाल र युरोपेली मुलुक रोमानियाबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र रोमानियाका श्रममन्त्री सिमोना बुकुरा अप्रेस्कुले आज रोमानियास्थित श्रम मन्त्रालयमा हस्ताक्षर गरेका हुन्।

रोमानिया नेपाली श्रमिकका लागि आकर्षित र सुरक्षित श्रम गन्तव्यका रुपमा परिचित छ । नेपाल र रोमानियाबीच कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि दुई देशबीच श्रम समझदारी भएको हो। दोहोरो करार, आधारभूत अङ्ग्रेजी भाषाको ज्ञान तथा व्यावसायिक सीपलगायत विषयमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्न दुवै मुलुकबीच सहमति भएको छ।

दुवै मुलुकका आप्रवासी कामदारले रोमानियाका नागरिकसरह सामाजिक सुरक्षाको उपभोग गर्न पाउने तथा दुवै पक्षको श्रमसँग सम्बन्धित निकायबीच समन्वय र सहकार्य गरी द्विपक्षीय श्रम समझदारीको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरले जानकारी दिए। हस्ताक्षर समारोहमा श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का र रोमानियास्थित नेपालका अवैतनिक वाणिज्यदूत नवराज पोखरेल तथा रोमानिया सरकारका श्रमसँग सम्बन्धित विभिन्न निकायका उच्च अधिकारीको सहभागिता रहेको प्रवक्ता घिमिरेले बताए।

त्यसअघि भएको द्विपक्षीय वार्तामा श्रममन्त्री भण्डारीले नेपाली कामदारसँग सरोकारका विषय, द्विपक्षीय श्रम समझादारीको आवश्यकता र प्रभावका बारेमा नेपालको अवधारणा प्रस्तुत गरेका थिए। रोमानियाका श्रम मन्त्री सिमोनाले नेपाली कामदारको हकहित सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्वता व्यक्त गर्दै आफ्नो देशमा उलेख्य सङ्ख्यामा नेपाली कामदार माग रहेको र पारदर्शीरुपमा कामदार छनोट गरिने तथा छोटो अवधिमा कामदार ल्याउने प्रक्रियामा समन्वय र सहकार्य गर्न आफू आतुर रहेको बताएका थिए।

रोमानियाले नेपालमा चाँडै आफ्नो राजदूतावास स्थापना गर्न चाहेको जानकारी दिएको थियो । त्यसबाट आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न सहज हुनेछ । रोमानियामा नेपाली श्रमिकका लागि सम्भावित सीपयुक्त श्रम बजारको पहिचान गर्नका साथै महिला श्रमिकसमेतलाई लक्षित गरी सुरक्षित वैदेशिक रोजगारी प्रवद्र्धन गर्ने कार्यलाई प्राथमिकतामा राखी आपसी सहकार्य गर्नेबारेमा कुराकानी भएको थियो। रोमानियामा ठूलो सङ्ख्यामा आप्रवासी कामदारको माग रहेको, त्यहाँ १५ हजार पाँच सय ९० नेपाली कामदार कार्यरत छन् । नेपालीको कार्य स्वभाव, इमान्दारी र लगनशीलतालाई दृष्टिगत गरी त्यहाँका रोजगारदाताले कृषि, निर्माण एवं सेवा क्षेत्रमा अवसर प्रदान गर्दै आएका छन्। रासस

 

प्रकाशित मिति : २०८० असोज २० गते शनिवार
प्रतिक्रिया दिनुहोस