२०८३ असार ३२ गते बिहिवार | 2026 July 16th Thursday

एमाले प्रदेश अधिवेशन : कोशी र कर्णालीमा आज चुनाव

काठमाडौं । नेकपा एमाले कोशी र कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। कर्णालीमा आइतबार बिहान ८ बजेबाट मतदान सुरु हुने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। शनिबार नै मतदान हुने भनिएको भए पनि सहमतिको प्रयास गरिएका कारण भोलि मात्रै मतदान हुने भएको छ।

बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सिटी हलमा मतदान हुने रिजालले बताए। शनिबार दिनभरि विद्युत् अवरुद्ध भएको कारण मतपत्र छपाइमा समेत समस्या भएको कारण आज मतदान हुन लागेको हो। प्रदेश अध्यक्षको लागि तीन जनाको उम्मेदवारी कायम रहेको छ । मीनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकायाको अध्यक्षमा उम्मेदवारी छ। अध्यक्षको लागि पाँच जनाले मनोनयन दर्ता गराएको भए पनि दुई जनाले फिर्ता लिएका छन्।

अधिवेशनमा प्रदेशभरका ६ सय ४ जना प्रतिनिधि रहेका छन्। जसमा १९५ महिला र ४ सय ७ पुरुष छन्। प्रदेश अधिवेशनले पाँच जना पदाधिकारीसहित १ सय ३५ जना सदस्यीय कमिटी निर्वाचित गर्नेछ। यता एमाले कोशी प्रदेशको पहिलो अधिवेशनमा अध्यक्षका मुख्य दाबेदार मानिएका घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छनन्। अधिवेशनले नेतृत्व चयनका लागि आज बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान हुने एमाले सचिव रघुविर महासेठले जानकारी दिए।

प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन्। एमाले एमाले अधिवेशनका लागि ९ सय ९७ जना प्रतिनिधि छन्। अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटीका लागि निर्वाचन हुनेछ। प्रदेशको नेतृत्व सहमतिमा टुङ्ग्याउने प्रयास गरेको एमालले अन्ततः निर्वाचन प्रक्रियाबाटै नेतृत्वको टुङ्गो लगाउने भएको हो।

 

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस