२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

टी–२० विश्वकप छनोट : उपाधिका लागि आज भिड्ने नेपाल र ओमान को बलियो ?

Live match of Nepal and Oman for the T-20 World Cup Qualifier title

१९ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधिका लागि आज आइतबार नेपाल र ओमान भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ। सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले हराउँदै ओमानसँगको भेट पक्का गरेको थियो।

यता ओमानले भने बहराइनलाई १० विकेटको सानदार जित निकाल्दै उपाधि नजिक पुगेको थियो। यसअघि नै सेमिफाइनलका खेल जित्दै नेपाल र ओमान दुवै टोलीले सन् २०२४ मा हुने विश्वकपमा स्थान बनाइसकेका छन्।

नेपाल र ओमान दुवै टोलीका लागि आजको खेल प्रतिष्ठाको लडाइँ पनि हो। यसअघि समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित हुँदै समूह उपविजेताको रुपमा सेमिफाइनल खेलेको थियो।

नेपाल आजको खेलमा त्यो हारको बदला लिदै घरेलु मैदानमा उपाधि राख्न चाहान्छ। उता ओमान भने नेपालविरुद्ध पहिलो खेलकै नतिजा दोहोराउने योजनामा हुनेछ। नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले सेमिफाइनल खेलेको टोलीबाट एक खेलाडी परिवर्तन गर्न सक्नेछन्। चोटका बावजुद पनि सेमिफाइनल खेलेका दिपेन्द्र सिंह ऐरि आजको खेलमा टोली बाहिर रहने सम्भावना छ। खुट्टाको चोट हुँदा उनले समूह चरणका सबै खेल गुमाएका थिए। तर नेपाली टोली विश्वकपमा छनोट हुन यूएईलाई हराउनै पर्ने दबाबमा हुँदा ऐरि टोलीमा आएका थिए। तर आजको खेलमा भने उनी टोली बाहिर हुन सक्छन्। उनको स्थानमा सन्दीप जोरा नै टोलीमा आउने सम्भावना छ।

 

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस