२०८३ असार ११ गते बिहिवार | 2026 June 25th Thursday

स्वास्थ्यकर्मीमाथि जातीय भेदभाव गर्ने दुई जना पक्राउ

काठमाडौँ । मुगुको सोरु गाउँपालिका-९, खनैयाँमा कार्यरत स्वास्थ्यकर्मी तुलसाकुमारी विकमाथि जातीय भेदभाव गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार जातीय भेदभाव गरेको आरोपमा झापु शाही र धनबहादुर भट्टलाई पक्राउ गरिएको हो । शाही खनैयाँ स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाहीकी आमा हुन् । उनको घरमा डेरा गरेर बसेकी तुलसालाई जात थाहा भएपछि जातीय भेदभाव गरेको र डेरा सरेर जान दबाब दिएको उनीमाथि आरोप छ ।

त्यस्तै, भट्ट स्थानीय व्यापारी हुन् । उनले सामान किन्न जाँदा तुलसाको जात सोधेको र विश्वकर्मा भन्ने थाहा पाएपछि सामान भुँइमै राखेर दिएर पैसासमेत भुँइमा राख्न लगाएर लिएको आरोप छ । शाही र भट्टलाई शनिबार पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक कार्कीले बताए । ‘उहाँहरूको नाममा किटानी जाहेरी परेको छ । त्यही आधारमा हामीले पक्राउ गरी अनुसन्धान अघि बढाएका छौँ,’ उनले भने, ‘आज अदालतमा हाजिर गराएपछि पक्रिया अघि बढ्छ ।’ दाङ घर भएकी अनमी तुलसाकुमारी गत वर्ष माघमा नियुक्ति लिएर खनैयाँ पुगेकी थिइन् ।

वैशाखमा घरधनीले जात थाहा पाएपछि त्यसयता डेरा सर्न दबाब दिएको र त्यस क्रममा गाउँले र गाउँपालिकाको शिक्षा शाखाका प्रमुख विरेन्द्र मल्लबाट यौन दुर्व्यवहार समेत भएको उनको आरोप छ । तर उनले त्यसको विरुद्धमा कानुनी लडाइँ लड्ने साहस समेत गरेकी थिइनन् । २ पुसमा अभियन्ता खगेन्द्र सुनारले उनको बारेमा सामाजिक सञ्जालमा स्ट्याटस लेखेपछि सो घटना बाहिर आएको थियो ।

 

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस