२०८१ जेष्ठ ३ गते बिहिवार | 2024 May 16th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सबै मत गनिनसक्दै प्राप्त अग्रताले इलाम – २ मा सुहाङको जित, विजय जुलुसको तयारी

इलाम बजार । प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम क्षेत्र नम्बर – २ मा भएको उपनिर्वाचनको अन्तिम परिणाम नआउँदै नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको जित निश्चित भएको छ । अब इलाम नगरपालिकाका केही वडाका मात्र साढे ५ हजार मत गन्न बाँकी छ ।

६० हजार मत खसेको इलाम – २ मा यो समाचार तयार पार्दासम्म ५५,२४६ मत गणना भइसकेको छ । यो अवस्थामा सुहाङले निकटतम प्रतिस्पर्धीलाई ६,२६० मतले उछिनेका छन् । सुहाङ नेम्बाङले २२,४९० मत ल्याएका छन् भने काँग्रेसले १६,२३० मत पाएको छ । काँग्रेसलाई पहिचान पक्षधरका साझा उम्मेदवार डकेन्द्र सिंह थेगिमले पछ्याउँदै छन् । थेगिमले १०,२७० मत पाएका छन् । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले भने ३,७५० मत पाएका छन् ।

अब बाँकी सबै मत नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई आउँदापनि नतिजा बदलिन्न । अरु उम्मेदवार रिङ आउट भइसकेका छन् । यसैले अब विजय जुलुसको तयारीमा एमाले लागिसकेको छ । सुहाङले जित्ने भएपछि एमाले नेता कार्यकर्ता र शुभेच्छुकहरू गणनास्थल बाहिर भेला भएर नाचगान गर्न थालेका छन् ।

यस्तै इलामको मतगणना भइरहेको सिटी हल क्षेत्रमा एमालेका नेता कार्यकर्ता र शुभेच्छुकहरू भेला हुन थालेका छन् । मतगणना स्थल अगाडि घुइँचो लागेको छ । हिजोको तुलानामा मतगणना स्थलमा एमाले कार्यकर्ताहरुको भिड बढेको हो । मुख्य निर्वाचन कार्यालयका अनुसार अब साढे ५ हजार मत गन्न बाँकी छ । यहि गतिमा मतगणना हुने हो भने अन्तिम नतिजा कुर्न अब केही घण्टा मात्र लाग्नेछ । अहिले गणकहरुको ३ वटा टोली छुट्याएर धमाधम मतगणना भइरहेको छ । परिणाम छिट्टै सार्वजनिक हुनेछ ।

 

 

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस