२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुँगुरबाट मिर्गौला प्राप्त गर्ने पहिलो व्यक्तिको निधन

First person to receive kidney from pig dies

काठमाडौँ । आनुवंशिक रूपमा परिमार्जित सुँगुरबाट मिर्गौला प्राप्त गर्ने पहिलो व्यक्ति रिचर्ड ‘रिक’ स्लेम्यानको दुई महिनापछि मृत्यु भएको छ। ६२ वर्षका स्लेम्यान को मिर्गौलाले पूर्ण रूपमा काम गर्न छोडेपछि प्रत्यारोपण गरिएको थियो। स्लेम्यानको शल्यक्रिया गरिएको म्यासाचुसेट्स जेनेरल अस्पतालले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रत्यारोपण टोली उनको मृत्युमा दुःखी भएको बताएको छ । अस्पतालका अनुसार उनको मृत्युको कारक प्रत्यारोपण हो भन्ने संकेत भने नभेटिएको दाबी पनि गरेको छ।

सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका स्लेम्यान राज्यको यातायात विभागका पर्यवेक्षक थिए । उनी धेरै वर्षदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिए, र एक दशकभन्दा बढी समयदेखि मास जनरलमा उपचार गराइरहेका थिए। आफ्नो मिर्गौला फेल भएपछि स्लेम्यानले सात वर्षसम्म डायलासिसमा थिए । अन्ततः सन् २०१८ मा मानव मिर्गौला प्राप्त गरे। तर, प्रत्यारोपण गरिएको अंग पाँच वर्षभित्रै असफल भयो र त्यसपछि उनले पुन: डायलासिस सुरू गर्नुपरेको थियो । जसका कारण उनमा हृदयघातलगायत अन्य जटिलताहरू विकास भएका थिए।

संयुक्त राज्य अमेरिकामा मात्रै ८ लाखभन्दा बढी मानिसहरूलाई अन्तिम चरणको मिर्गौला रोगले असर गर्छ । जसलाई कुनै एक समय प्रत्यारोपणको आवश्यकता पर्छ । आनुवंशिक रूपमा परिमार्जित सुँगुरबाट प्राप्त हुने मिर्गौलाले अंग प्राप्त गर्नका लागि वर्षौंसम्मको पर्खाइलाई कम गर्न सक्छ ।

जीवित वा मृत मानव दाताबाट प्राप्त गरिएको मिर्गौला प्रत्यारोपण गर्न एक लाखभन्दा बढी प्रतीक्षा सूचीमा छन्। डायलासिसले मानिसहरूलाई जीवित राख्छ तर सबैभन्दा उत्तम उपाय भनेको अंग प्रत्यारोपण नै हो। तर अंगको चर्को अभावका कारण बर्सेनि हजारौं बिरामी मिर्गौलाको पर्खाइमा मर्ने गरेका छन् । प्रत्येक वर्ष अमेरिकामा कुल २५ हजार मिर्गौला प्रत्यारोपण हुने गर्छ ।

मानिसमा जनावरको अंगको प्रत्यारोपण गरिने विधा जेनोट्रान्सप्लान्टेसनलाई दशकौंदेखि एक सम्भावित समाधानको रूपमा हेरिएको छ । यसले मिर्गौलालाई अझ व्यापक रूपमा उपलब्ध गराउन सक्छ। तर यसको चुनौती भनेको मानव प्रतिरक्षा प्रणालीले अर्काको तन्तुहरूलाई अस्वीकार गर्छ, जसले जीवनलाई नै जोखिम हुनसक्ने खालका जटिलताहरू निम्त्याउन सक्छ । राम्रोसँग मेल खाएका दाताहरूबाट लिइएको अंगलाई पनि दीर्घकालमा शरीरले अस्वीकार गर्ने जोखिम रहने विशेषज्ञहरू बताउँछन् ।

यो मिर्गौला बायोटेक कम्पनी इजेनेसिसद्वारा इन्जिनियर गरिएको सुँगुरबाट प्राप्त गरिएको हो, जसले अंगको सम्भावित अस्वीकृतिमा संलग्न तीनवटा जिनहरू हटाएको थियो । साथै, मानव अनुकूलता बढाउन सात मानव जिनहरू पनि सम्मिलित गरिएको थियो । सुँगुरहरू रेट्रोभाइरसका वाहक हुने भएकाले कम्पनीले मानिसलाई सर्ने सम्भावना रहेको भाइरसलाई पनि निष्क्रिय बनाएको थियो ।

अमेरिकाको बोस्टनस्थित म्यासाचुसेट जेनेरल अस्पतालका लेगोररेटा सेन्टर फर क्लिनिकल ट्रान्सप्लान्ट टोलरेन्सका निर्देशक डा. तात्सुओ कावाई र डा. नाहेल इलियाससहित सर्जनहरूको टोलीले चार घण्टा लामो शल्यक्रिया गरेर स्लेम्यानको प्रत्यारोपण गरेका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस