२०८२ साउन ३ गते शुक्रवार | 2025 July 18th Friday

एक नेपालीले वर्षमा ९३ किलो खाना खेर फाल्छ, गर्दैछ पृथ्वी नष्ट

काठमाडौं । एक नेपालीले वर्षमा औसत ९३ किलो खाना खेर फाल्ने गरेको अध्ययनले देखाएको छ । कृषि अर्थविज्ञ डा. देवेन्द्र गौनले बर्सेनि एक व्यक्तिले घरबाट, फूड सर्भिस, खुद्रा लगायत क्षेत्रबाट उपभोग गर्ने खाना औसतमा ९३ किलो खेर फाल्ने गरेको बताए । ‘अन्तर्राष्ट्रियस्तरको एउटा अध्ययनले एक व्यक्तिले बर्सेनि ९३ किलो खाना खेर फाल्ने गरेको देखाएको छ,’ उनले भने, ‘विश्वव्यापी रूपमा बर्सेनि औसतमा १३ प्रतिशत खाना खेर फालिन्छ भने १७ प्रतिशत नोक्सान हुन्छ ।’

डा. गौनले नेपालमा कुल उत्पादन हुने कृषि उपजमध्ये ३० देखि ४० प्रतिशत नोक्सान हुने बताए । ‘कृषि उपजमा ३० देखि ४० प्रतिशत नोक्सान हुनु भनेको किसानको मेहनत नोक्सान हुनका साथै फुड न्युट्रिशन, उत्पादनमा गरेको लगानी पनि नोक्सान हुने भयो,’ उनले भने, ‘यसले जलवायु परिवर्तनमा पनि असर पुर्‍याउँछ, खेर गएको खानाले ८ देखि १० प्रतिशत ग्रीन हाउस ग्यास उत्पादन गर्छ ।’

नेपालमा कृषि उपज भित्र्याउनदेखि बजार पुर्‍याउँदासम्म नोक्सान भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले बताए । ‘बाली काट्नेदेखि लिएर, प्याकेजिङको कुरा गर्ने हो भने राम्रो बनाउन सकेका छैनौँ,’ उनले भने, ‘रोड नेटवर्क हे¥यो भने एकदम कमजोर छ । बजारसम्म तरकारी आइपुग्दा गिलो भइसकेको हुन्छ । नेपालमा जनचेतनाको कमीका कारणले खाना खेर जाने विज्ञहरू बताउँछन् । यसका साथै कटान, भण्डारण, ढुवानी लगायत विषयमा ध्यान नदिँदा पनि खाद्यान्न खेर जाने उनीहरूको भनाइ छ ।’

बर्सेनि एक व्यक्तिले सरदर ९३ किलो खानेकुरा घरबाट, फूड सर्भिस, खुद्रा लगायत क्षेत्रबाट उपभोग गरेर बढी भएको खाना फाल्ने गरेको कृषि अर्थविज्ञ डा. देवेन्द्र गौचन बताउँछन् । यसलाई खाना खेर फालेको भनेर बुझ्न सकिने उनको भनाइ छ । ‘खाना खेर जानु भनेको उपभोगसँग, नोक्सान हुने उत्पादन, भण्डारण, प्रशोधनसँग जोडिएको छ,’ उनले भने, ‘उदाहरण लागि कालिमाटीको बजारमा तरकारी फालिनु भनेको नोक्सान हो ।’

यति मात्र हैन । खाना बनिसकेपछि फाल्दा यहाँ धेरै कुराको क्षति भइसकेको हुन्छ । पकाउँदा लाग्ने सम्पूर्ण सामाग्री खेर गयो । इन्धन खेर गयो । यसले राज्यलाई ठूलो नोक्सानी गर्छ । राज्यलाई मात्र हैन । फालिएको खानाले पृथ्वीलाई असर गर्ने रसायन उत्सर्जन गर्छ । तपाईले फालेको एकसिता खानाले समेत तपाईकै बासस्थान ब्रमाण्डलाई असर गरिरहेको हुन्छ ।

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस