२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

‘टर्बुलेन्स’ का कारण विमानमा गम्भीर गडबडी भएपछि दुर्घटना

काठमाडौं । सिंगापुर एयरलाइन्सको बोइङ ७७७-३०० इआर विमान मंगलबार दुर्घटनामा परेको छ। सिएनएनका अनुसार लन्डनबाट सिंगापुर आइरहेको जहाज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीस जना घाइते भएका छन्।

जहाजमा २११ जना यात्रु र १८ जना चालक दलका सदस्य रहेको बताइएको छ। एयरलाइन्सले भने विमानमा सवार मानिसको संख्याबारे खुलाएको छैन।

मृत्यु हुनेमा ७३ वर्षीय बेलायती नागरिक छन्। १८ जना घाइते अस्पताल भर्ना भएका छन् भने अरू १२ जनाको उपचार भइरहेको छ। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर भएको सिएनएनले उल्लेख गरेको छ। त्यस्तै बाँकी यात्रु र चालक दलका सदस्यको स्वास्थ्य परीक्षण भइरहेको एयरलाइन्सले जनाएको छ।

‘टर्बुलेन्स’ का कारण विमानमा गम्भीर गडबडी भएपछि सो विमान स्थानीय समय अनुसार अपराह्न ३ः४५ मा बैंककमा आपतकालीन अवतरण गरिएको थियो। सिंगापुरका राष्ट्रपति थर्मन शनमुगरत्नमले आफ्नो सामाजिक सञ्जालमार्फत् ‘मृतकको परिवार र प्रियजनहरूप्रति समवेदना’ व्यक्त गर्दै एक विज्ञप्ति जारी गरेको सिएनएनले लेखेको छ।

‘हामीसँग प्रभावितहरूको विवरण छैन। तर हामीलाई थाहा छ कि सरकारी मन्त्रालय, एजेन्सीहरू र एयरलाइन्सले सबै प्रभावितहरूलाई सहयोग गर्न सक्दो प्रयास गरिरहेका छन्। बैंककका अधिकारीहरूसँग समन्वय गरिरहेका छन्,’ राष्ट्रपति थर्मन शनमुगरत्नमले भनेका छन्। सिंगापुरका यातायात मन्त्री ची होङ टाटले पनि आफ्नो सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘घटनाबारे थाहा पाउँदा निकै दुःख लागेको छ। जहाजबाट यात्रुहरूको उद्धार गर्न डेढ घन्टा समय लागेको थियो। दुर्घटनाका कारण विमान क्षतिग्रस्त भएको छ।’

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस