२०८३ असार ११ गते बिहिवार | 2026 June 25th Thursday

उपाधि छिनोफानोमा भारतले दक्षिण अफ्रिकाविरुद्ध पहिलो ओभरमा नै लियो १५ रन

india vs south africa

काठमाडौं । आइसिसी टी–२० विश्वकपको उपाधि छिनोफानोमा भारतले दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । उपाधि भिडन्तमा भारत र दक्षिण अफ्रिका राति सवा ८ बजे बार्बाडोसस्थित केन्सिंग्टन ओभलमा आमनेसामने भइरहेका हुन् । भारतले दक्षिण अफ्रिकालाई पहिलो ओभरमा नै १५ रन लिएको छ ।

बार्बाडोसमा आमनेसामने हुँदा भारत ११ वर्षदेखिको उपाधि खडेरी तोड्ने र दक्षिण अफ्रिका पहिलो पटक उपाधि जित्ने योजनामा हुनेछ। फाइनल खेल त्यसै पनि रोचक हुने नै छ। समूह चरणदेखि दुवै टिम अपराजित रहँदै फाइनलमा भेट भएकाले खेल अझै प्रतिक्षित बनेको छ।

भारतले समूह चरणमा आयरल्याण्डलाई ८ विकेटले, पाकिस्तानलाई ६ रनले र अमेरिकालाई ७ विकेटले पराजित गरेको थियो। वर्षाका कारण खेल रद्द हुँदा क्यानडासँग उसले अंक बाँडेको थियो। सुपर–आठका तीनै खेलमा भारत विजयी भएको थियो। उसले अफगानिस्तानलाई ४७ रनले, बंगलादेशलाई ५० रनले र अस्ट्रेलियालाई २४ रनले पराजित गरेको थियो।

समग्रमा ७ जित निकाल्दै भारतले फाइनलमा स्थान बनाएको हो। जारी विश्वकपमा दक्षिण अफ्रिकाको लय पनि उत्कृष्ट छ। समूह चरणमा श्रीलंकलाई ६ विकेटले, नेदरल्याण्ड्सलाई ४ विकेटले र बंगलादेशलाई ४ रनले हराएको थियो। समूह चरणकै खेलमा दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित भएको थियो। समूह विजेता बन्दै सुपर आठमा पुगेको दक्षिण अफ्रिकाले सुपर आठमा इंग्ल्याण्डलाई ७ रनले, वेस्ट इण्डिजलाई ३ विकेट र अमेरिकालाई १८ रनले पराजित गरेको थियो। दक्षिण अफ्रिका ८ जित निकाल्दै फाइनल पुगेको हो।

भारत बलिङ र ब्याटिङ दुवैतर्फ उत्कृष्ट लयमा छ। ७ खेलबाट २४८ रन बनाएका कप्तान रोहित शर्मा जारी विश्वकपमा सर्वाधिक रन बनाउने सूचीको तेस्रो नम्बरमा छन्। रिशभ पन्त, सूर्यकुमार यादव र हार्दिक पाण्ड्याको भूमिका पनि महत्वपूर्ण हुनेछ। ओपनर विराट कोहलीले यसपालि राम्रो प्रदर्शन गर्न सकेका छैनन्।

 

प्रकाशित मिति : २०८१ असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस