२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

नोबेल शान्ति पुरस्कार विजेता बंगलादेश सरकार प्रमुख, भने– अद्‌भुत देश बनाउनु छ, शान्त हुनुस्

Who is Muhammad Yunus, the Nobel laureate leader of Bangladesh’s interim government

२४ साउन, काठमाडौं । बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले आज शपथ ग्रहण गर्दैछन् । उनले आजै सल्लाहकार परिषद् पनि गठन गर्नेछन् । शपथ ग्रहण समारोह राति आठ बजे हुनेछ । उनले १५ सदस्यीय सल्लाहकार परिषद् गठन गर्ने सम्भावना रहेको मिडिया रिपोर्टहरुमा उल्लेख छ ।

विद्यार्थीहरुले सुरु गरेको आरक्षण विरोधी आन्दोलन थेग्न नसकेपछि शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिंदै देश छाडेर भारत गएपछि विद्यार्थीका प्रतिनिधिको सिफारिसमा र सेना समेतको पहलमा युनुस अन्तरिम सरकार प्रमुख बनेका हुन् । उपचारको सिलसिलामा फ्रान्सको राजधानी पेरिसबाट दुबई हुँदै आज दिउँसो बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदै छन् ।

उनले बुधबार एक विज्ञप्ति जारी गर्दै बंगलादेशवासीलाई शान्त रहन र देश बनाउन एकजुट हुन अपिल गरेका छन् । ‘म सबैलाई शान्त रहन अपिल गर्दुछ । कृपया सबै प्रकारका हिंसाबाट टाढै रहनुहोला’ युनुस सेन्टरबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘सबै विद्यार्थी, सबै राजनीतिक दलका सदस्य र गैरराजनीतिक सबै व्यक्तिलाई शान्त रहन आह्वान गर्दछु । यो हाम्रो सुन्दर देशमा धेरै राम्रा सम्भावनाहरु छन्, हामीले यसको रक्षा गर्नुपर्छ । हाम्रो लागि र हाम्रो नयाँ पिंढीका लागि एक अद्भुत देश बनाउनुपर्दछ ।’

८४ वर्षीय युनुस शेख हसिनाका प्रतिद्वन्द्वी हुन् । उनी गरिबहरुको बैंकरका रुपमा चिनिन्छन् । गरिबीको रेखामुनि रहेकाहरुलाई ऋणबाट मुक्त गर्ने लक्ष्य सहित उनले ग्रामीण बैंक तथा लघुवित्त स्थापना गरेका थिए । उनी आफ्नो लक्ष्यमा सफल पनि भएका थिए । त्यसैले प्राध्यापक समेत रहेका युनुस र त्यहाँको ग्रामीण बैंकले सन् २००६ को नोबेल शान्ति पुरस्कार पाएको थियो ।

तर, शेख हसिनाले उनलाई गरिबको रगत चुसेको भन्दै आलोचना गर्दथिन् । गएको जनवरीमा बंगलादेशको एउटा अदालतले युनुसलाई देशको श्रम कानुन उल्लंघन गरेको भन्दै जेल सजाय समेत सुनाएको थियो । तर, उनी जेलमा बस्न भने परेन । युनुस विरुद्ध अहिले पनि एक सय बढी आरोपहरु दर्ज भएका छन् । यद्यपि उनले आफूमाथि लागेका आरोप राजनीति प्रेरित भएको भन्दै खण्डन गर्दै आएका छन् ।

 

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस