२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव, २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी

२२ मंसिर, काठमाण्डौँ । श्री सीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाहमण्डप बनाइएको छ । जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रमको समयमा हजारौं श्रद्धालुको सहभागिता रह्यो ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवका अनुसार यस पटक विवाहपञ्चमी महामहोत्सवमा करिब २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी भए। त्रेतायुगको झल्को दिने विवाहपञ्चमी महोत्सव हेर्नका लागि नेपाल, भारत र तेस्रो मुलुकबाट हजारौं दर्शनार्थीहरू जनकपुरधाम आइपुगेको हो ।

यस पटक प्रत्येक ५ वर्षमा अयोध्याबाट आउने जन्ती पनि आएका छन् । अयोध्याबाट रामजन्म भूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत राय, अयोध्याका प्रमुख गिरिशपति त्रिपाठी, विश्व हिन्दू परिषद् केन्द्रीय मन्त्री राजेन्द्र सिंह पङ्कज सहितका व्यक्ति जन्तीमा आएको छ ।

जकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रमको प्रत्येक वर्ष आयोजना हुनेगर्छ । वैवाहिक कार्यक्रमका लागि छोरीको बिहेका लागि जसरी मण्डप सजाइन्छ ठीक त्यसरी नै रामजानकी विवाहका लागिसमेत मण्डप सजाएको छ । जनकपुरधामस्थित रहेको जानकी मन्दिरलाई मिथिला दरबारका रूपमा लिइन्छ भने राम मन्दिरलाई अयोध्या दरबारका रूपमा लिइन्छ। जानकी मन्दिर तथा राम मन्दिरलाई बेहुली झैँ विवाहपञ्चमीका लागि सिङ्गारिएको छ। जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले छोरी बिहेको आयोजन गरिरहेको जस्तै अनुभव गर्ने गरेको बताए ।

प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस