भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच राष्ट्रपति बनेपछि पहिलो पटक सोमबार टेलिफोन वार्ता भएको छ। दुवै नेताबीच द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने, क्वाड, रक्षा, ऊर्जा, प्राविधिक र अन्तरिक्षलगायतका क्षेत्रहरूमा सहकार्यका विषयमा छलफल भयो।
प्रधानमन्त्री मोदीले ट्रम्पलाई सपथ ग्रहणमा बधाई दिँदै दुवै देशको हितमा मिलेर काम गर्न तत्परता व्यक्त गरे। उनले सामाजिक सञ्जाल एक्समा लेखेका थिए, “प्रिय मित्र डोनाल्ड ट्रम्पलाई ऐतिहासिक सपथ ग्रहणको लागि बधाई। राम्रो भविष्य निर्माणका लागि सँगै काम गर्न उत्साहित छु।”
यसअघि, अमेरिकी चुनावमा ट्रम्पको विजयपछि पनि मोदीले फोनमार्फत बधाई दिएका थिए। ट्रम्पको सपथ ग्रहण समारोहमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरले भारतको प्रतिनिधित्व गरेका थिए।
प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार

