२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

रगतमा डुबेका सैफ अलि खानलाई छोराले अटोरिक्सामा हालेर लगेका थिए अस्पताल

"Saif Ali Khan, covered in blood, was rushed to the hospital by his son in an auto-rickshaw."

काठमाडौं । डकैतीको क्रममा चक्कु प्रहार हुँदा बलिउड अभिनेता सैफ अलि खान घाइते भएका छन् । बिहीबार मुम्बईको बान्द्रास्थित घरमा उनलाई ६ पटक चक्कु प्रहार भएको थियो । प्रहारपछि उनी गम्भीर घाइते भए। घाइते भएका सैफलाई बिहानको साढे ३ बजे बान्द्राको लीलावती अस्पताल लगिएको थियो। रगतले लत्पतिएका सैफलाई उनका जेठा छोरा इब्राहिम अली खानले अटोरिक्शामा हालेर अस्पताल लगेका थिए ।

घरमा निजी कारहरु भए पनि तत्काल ड्राइभर उपलब्ध नभएकाले अटोरिक्सा रोकेर लगिएको समाचारमा जनाइएको छ । अटोरिक्सामा ड्राइभर छेउको सिटमा करिना बसेकी थिइन् भने पछाडि बुवालाई समातेर इम्राहिम बसेका थिए । घर र अस्पतालको दुरी २ किलोमिटर रहेको छ । प्रारम्भिक जानकारी अनुसार खानको घरमा एक अपरिचित व्यक्ति प्रवेश गरेका थिए जसका कारण दुबैबीच झडप भयो । घटनाको समयमा सैफको घरमा परिवारका केही सदस्य मात्र उपस्थित रहेको प्रहरीले बताएको छ ।

भने, घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेर अनुसन्धान थालेको बान्द्रा प्रहरीले जनाएको छ । सैफको घरमा छिरेका ती अन्जान व्यक्तिले सैफको घर लुट्ने प्रयास गरेको हो या होइन भन्ने बारे भने अनुसन्धान भइरहेको एक वरिष्ठ प्रहरी अधिकारीले बताए। छ वटा छुरा प्रहारमध्ये दुईवटा प्रहार सैफलाई गहिरो लागेको थियो। यतिबेला उनी खतरामुक्त रहेको बताइएको छ भने चिकित्सकको टोलीले उनको शल्यक्रिया गरिरहेको छ ।

भारतीय संचारमाध्यमका अनुसार लीलावती अस्पतालका सीईओ डा.निरज उत्तमानी भन्छन,‘सैफको एउटा चोट उनको मेरुदण्डको नजिक छ। हातको घाउ पनि गहिरो छ । उनको बायाँ हातको शल्यक्रियाका लागी प्लास्टिक सर्जन चाहिन्छ जसका लागी एक न्यूरोसर्जन हामीसँग हुनुहुन्छ। हामी शल्यक्रिया पछि मात्र क्षतिको हद बताउन सक्षम हुनेछौं।’

एक डाक्टरका अनुसार उनको शरीरमा चक्कुको टुक्रा भेटिएको छ भने क्षति के कति भयो भन्नेबारे चिकित्सकले परीक्षण गरिरहेको छ। यद्यपि, सैफले आफ्नो अंगहरू चलाइरहेका छन् जसले उनको मेरुदण्ड ठीक रहेको संकेत गरेको छ। सैफ पत्नी करीना कपूर र आफ्ना दुई छोराहरु, जेह र तैमुरसँगै बान्द्राको पश्चिमी उपनगरको एक अपार्टमेन्टमा बस्छन्। बान्द्रा फिल्म उद्योगका धेरै स्टारहरूको घर पनि हो।

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस