इरानको राजधानी तेहरानमा भएको गोलीकाण्डमा सर्वोच्च अदालतका दुई वरिष्ठ न्यायाधीशको मृत्यु भएको छ। अल जजिराका अनुसार आक्रमणकारीले घटनास्थलमै आत्महत्या गरेका छन्।
शनिबार बिहान मध्य तेहरानको न्यायाधिकरण भवन बाहिर गोली हानी आक्रमण भएको थियो। होज्जत अल-इस्लाम रजिनी र होज्जत अल-इस्लाम वाल-मुस्लिमीन मोकिस्सेह नामका न्यायाधीशहरूको मृत्यु भएको पुष्टि गरिएको छ। उनीहरूले अदालतको फरक-फरक शाखाको नेतृत्व गरेका थिए।
इरानी न्यायपालिकाले मारिएका न्यायाधीशहरूलाई “साहसी र अनुभवी” को रूपमा वर्णन गर्दै, उनीहरू राष्ट्रिय सुरक्षा, जासुसी र आतंकवाद विरुद्धको अपराधसँग लड्न सक्रिय थिए भनेको छ।
आक्रमणकारीको पहिचान तथा उद्देश्य अझै स्पष्ट भइसकेको छैन। न्यायपालिकाको विज्ञप्तिमा भनिएको छ, “प्रारम्भिक अनुसन्धानले देखाउँछ कि अपराधीको सर्वोच्च अदालतमा पहिले कुनै मुद्दा थिएन न त उनी त्यहाँ आउनेहरू मध्ये एक थिए।”
सरकारी सञ्चार माध्यम तेहरान टाइम्सका अनुसार, इरानी क्यालेन्डरअनुसार हप्ताको पहिलो कार्य दिन शनिबार भएको यस आक्रमणमा एक अंगरक्षक पनि घाइते भएका छन्।
इरानी मिडियाले आक्रमणमा संलग्न हुन सक्ने अन्य संदिग्धहरूको खोजी र पक्राउका लागि अनुसन्धान जारी राखेको जनाएको छ।

