२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

अमेरिकामा दुई ठूला विमान दुर्घटना : ७३ जनाको मृत्यु

अमेरिकामा पछिल्ला दिनमा भएका दुई विमान दुर्घटनामा ७३ जनाले ज्यान गुमाएका छन्। शनिबार बिहान पेनसिल्भेनियाको फिलाडेल्फिया सहरमा एक मेडिकल विमान दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ। विमानमा २ चिकित्सक, २ पाइलट, १ बिरामी र १ परिवारका सदस्य थिए। लियरजेट ५५ विमानले उडान भरेको ३० सेकेन्डमै दुर्घटनाग्रस्त भएको थियो। बाक्लो बस्तीमा खसेको विमानका कारण केही घरमा आगो लागेको छ। मृतक सबै मेक्सिकोका नागरिक थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनामा ज्यान गुमाएका निर्दोष व्यक्तिहरूको सम्झना गर्दै रेस्क्यू टोलीको प्रशंसा गरेका छन्।

दुई दिनअघि बिहीबार वासिङ्टन डिसीमा भएको अर्को विमान दुर्घटनामा ६७ जनाको मृत्यु भएको छ। दुर्घटनापछि विमान र हेलिकप्टर दुवै पोटोम्याक नदीमा खसेका थिए। विमानमा ४ चालक दलका सदस्यसहित ६४ जना, जबकि हेलिकप्टरमा ३ जना सवार थिए। सबैको मृत्यु भइसकेको छ। हालसम्म ४० जनाको शव फेला परेको छ। दुर्घटनापछि अमेरिकन एयरलाइन्सको विमान तीन टुक्रामा नदीमा फेला परेको थियो। विमान र हेलिकप्टर दुवैको फ्लाइट डाटा रेकर्डर (एफडीआर वा ब्ल्याक बक्स) भेटिएको छ।

प्रकाशित मिति : २०८१ माघ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस