२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

अमेरिकी सैन्य विमान दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं । फिलिपिन्समा बिहीबार एक अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना रक्षा ठेकेदार रहेका छन्। विमान दक्षिणी फिलिपिन्सको एक खेतमा खस्दा दुर्घटना भएको हो। अमेरिकी इन्डो-प्यासिफिक कमाण्डका अनुसार विमान नियमित मिसनमा थियो र फिलिपिन्सका साझेदारहरूको अनुरोधमा गुप्तचर जानकारी, निगरानी र टोही सहायता प्रदान गरिरहेको थियो।

फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणले पनि मागुइन्डानाओ डेल सुर प्रान्तमा हल्का विमान दुर्घटनाग्रस्त भएको पुष्टि गरेको छ। मागुइन्डानाओ डेल सुरका सुरक्षा अधिकारी अमीर जेहाद टिम अम्बोलोद्टोका अनुसार अम्पाटुआन शहरमा विमानको भग्नावशेष भेटिएको छ, जहाँ चार जनाको शव निकालिएको छ।

स्थानीय बासिन्दाले विमानबाट धुवा निस्किएको देखेका थिए र दुर्घटनाको केही अघि विस्फोटको आवाज सुनेका थिए। अमेरिकी इंडो-प्यासिफिक कमाण्डले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ। हालसम्म चालक दलका सदस्यहरूको नाम सार्वजनिक गरिएको छैन। आपदा अधिकारी विंडी बीटीका अनुसार दुर्घटनास्थल नजिक कुनै स्थानीय बासिन्दा घाइते भएको विवरण प्राप्त भएको छैन।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस