२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

थप तीन इजरायली बन्धक रिहा, ३६९ प्यालेस्टिनी पनि छुटे

गाजास्थित इस्लामिक लडाकू समूह (हमास)ले शनिबार तीन इजरायली बन्धकलाई रिहा गर्दै रेडक्रसको जिम्मा लगाएको छ। यसै दिन इजरायलले ३६९ प्यालेस्टिनीहरूलाई हिरासतबाट मुक्त गर्ने जनाएको छ।

हमासका नकाबधारी लडाकूहरूले गाजाको दक्षिणी सहर खान युनिसमा बन्धकहरूको परेड गराएर, उनीहरूलाई रेडक्रसको हवाले गर्न अघि भीडलाई सम्बोधन गरेका थिए। यसअघि, युद्धविराम सम्झौताअन्तर्गत बन्धक आदानप्रदानको यो छैटौँ समूह हो।

गत जनवरी १९ मा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौतामा खलल आउन सक्ने आशङ्कासँगै शनिबारको बन्धक आदानप्रदान भएको हो।

सम्झौताअन्तर्गत, हमासले २०० लडाकूलाई सुपुर्दगी समारोहमा तैनाथ गरेको थियो। इजरायलले सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा अपहरण गरिएका तीन इजरायलीलाई रिहा गर्न लागेको पुष्टि गरेको छ।

इजरायली सरकार र प्यालेस्टिनी प्रिजनर्स क्लबका अनुसार, बदलामा ३६९ प्यालेस्टिनीलाई रिहा गर्ने कार्य शनिबार अघि बढाइएको हो।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस