२१ फागुन, काठमाण्डौँ । भारतीय प्रहरी महानिर्देशक रामचन्द्र रावकी छोरी एवं कन्नड अभिनेत्री रान्या राव सुन तस्करी अभियोगमा पक्राउ परेकी छन् । उनलाई २ दिनअघि केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व गुप्तचर निर्देशनालय (डीआरआई) ले दुबईबाट १२ करोड रुपैयाँ बढी मूल्यको १४ दशलमव ८ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ गरेको हो ।
डीआरआईका अधिकारीहरूले सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो । उनले शरीरमा बेल्ट बाँधेर राखिएको बेल्टमा लुकाइएको सुन फेला पारेका थिए । उनलाई हिजो विशेष अदालतमा पेश गरिएको र अदालतले अनुसन्धानका लागि १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कन्नड र तमिल चलचित्रहरू मानिक्य, पटाकी र बाघामा अभिनय गरेकी रान्या बेंगलुरु विमानस्थलबाट सञ्चालित ठूलो तस्करी सिन्डिकेटको हिस्सा भएको आशंका गरिएको छ । गिरफ्तारी पछि, डीआरआई अधिकारीहरूले उनको निवासमा खानतलासी गरेका थिए ।
रान्या बारम्बार अन्तर्राष्ट्रिय यात्राका कारण निगरानीमा थिइन्, हालैका महिनाहरूमा दुबईमा उनको कुनै व्यावसाय नभए पनि एक महिनामा दश भन्दा बढी पटक यात्रा गरेको अधिकारीहरुले जनाएका छन् । खाडीमा उनको धेरै छोटो अवधिको भ्रमण देखेर अघिकारीहरुले शंका गरेको थियो । उनलाई सघाउने प्रहरीका एक हवल्दारलाई डीआरआईका अधिकारीहरूले सोधपुछको लागि हिरासतमा लिएका थिए । पक्राउ परेपछि रान्याले आफूलाई ब्ल्याकमेल गरिएको र सुन तस्करी गर्न बाध्य पारिएको दाबी गरेकी छन् । उनले चार महिनाअघि मात्र एक डिजाइनरसँग विवाह गरेकी थिइन्।

