काठमाडौं। नेपाल वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५ अनुसार दक्षिण एसियाको सबैभन्दा खुसी देश बनेको छ। अक्सफोर्ड विश्वविद्यालयको वेलबिङ रिसर्च सेन्टरले प्रकाशित गरेको वार्षिक प्रतिवेदनअनुसार नेपाल ९२औं स्थानमा छ, जसले दक्षिण एसियाली राष्ट्रहरूमा अग्रस्थान कायम गरेको छ। प्रतिवेदनमा पाकिस्तान १०९औं, भारत ११८औं, श्रीलंका १३३औं र बंगलादेश १३४औं स्थानमा रहेका छन्। भूटान भने यो प्रतिवेदनको सूचीमा समावेश नभएको वा यसको वरियता उल्लेख नभएको पाइएको छ।
खुसीको मापन कसरी गरिन्छ?
खुसीको वरियता कुनै देशको स्थान निर्धारण मानिसहरूले आफ्नो जीवनलाई कसरी मूल्याङ्कन गर्छन् भन्ने आधारमा गरिन्छ। यो अध्ययन विश्लेषणात्मक फर्म ग्यालप र संयुक्त राष्ट्रको दिगो विकास समाधान नेटवर्कसँगको साझेदारीमा गरिएको हो। ग्यालपका सीईओ जोन क्लिफ्टनका अनुसार, खुसी केवल आर्थिक वृद्धिसँग मात्र सम्बन्धित छैन, बरु विश्वास, सम्बन्ध र सामाजिक समर्थन जस्ता कारकहरू महत्त्वपूर्ण भूमिका खेल्छन्।
वैश्विक खुसीको सूची
प्रतिवेदनमा नर्डिक राष्ट्रहरू फेरि एकपटक अग्रस्थानमा रहेका छन्। फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश बनेको छ, जसलाई डेनमार्क, आइसल्यान्ड र स्वीडेनले पछ्याएका छन्। यस्तै, नेदरल्यान्ड्स पाँचौँ स्थानमा रहेको छ। कोस्टारिका र मेक्सिको पहिलो पटक शीर्ष १० मा परेका छन्, क्रमशः छैठौं र १०औं स्थानमा। इजरायल, हमाससँगको युद्धका बाबजुद, आठौं स्थानमा उक्लिएको छ।
अमेरिका र बेलायतको घट्दो खुसी
संयुक्त राज्य अमेरिका २४औं स्थानमा झरेको छ, जुन २०१२ मा ११औं स्थानमा थियो। प्रतिवेदनअनुसार, अमेरिकामा एक्लै खाना खाने मानिसहरूको संख्या विगत दुई दशकमा ५३५ ले बढेको छ, जसले सामाजिक एक्लोपनलाई संकेत गर्छ। संयुक्त अधिराज्य ९बेलायत० २३औं स्थानमा छ, जुन २०१७ पछिको सबैभन्दा कम औसत जीवन मूल्याङ्कन हो।
सबैभन्दा दुखी देशहरू
अफगानिस्तान फेरि पनि विश्वको सबैभन्दा दुखी देश बनेको छ, जहाँ विशेष गरी महिलाहरूले आफ्नो जीवन कठिन भएको बताएका छन्। पश्चिमी अफ्रिकाको सियरा लियोन दोस्रो सबैभन्दा दुखी देश हो, त्यसपछि लेबनान तेस्रो स्थानमा छ।

