२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

नागरिक आरोग्य सेवा ७५३ वटै पालिकामा विस्तार गर्ने सरकारको योजना – स्वास्थ्य मन्त्री

पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिक आरोग्य सेवा देशभरका ७५३ वटै पालिकामा विस्तार गर्ने सरकारको योजना रहेको बताएका छन्।

शुक्रबार काठमाडौंको बुढानीलकण्ठमा रहेको राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रको शुभारम्भ गर्दै मन्त्री पौडेलले सरकारले आयुर्वेद क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताए। आगामी आर्थिक वर्षको बजेटमा नागरिक आरोग्य सेवा सबै पालिकामा पुर्याउने व्यवस्था गरिने उनको भनाइ छ।

मन्त्री पौडेलले आयुर्वेद नेपालकै मौलिक चिकित्सा प्रणाली भएको उल्लेख गर्दै यसलाई जीवनशैली र संस्कृतिको अभिन्न अंगका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए। नेपाललाई आयुर्वेदको हब बनाउने सरकारको लक्ष्य रहेको बताउँदै उनले आयुर्वेद नेपालको मौलिक पहिचान भएको कुरा विश्वसामु स्थापित गर्नुपर्ने धारणा व्यक्त गरे।

स्वास्थ्य मन्त्रालयले बिरामी भएपछि मात्रै उपचार गर्ने प्रणालीभन्दा निरोगी जीवनशैली अपनाउन प्रेरित गर्ने अभियानलाई प्राथमिकता दिएको पौडेलले बताए। सरकारले नेपाली नागरिकलाई स्वस्थ राख्ने दीर्घकालीन उपायहरू खोजिरहेको जानकारी उनले दिए।

नागरिक आरोग्य सेवा विस्तारसँगै सम्पूर्ण नेपाली जनताले सहज रूपमा आयुर्वेद तथा योगजस्ता परम्परागत स्वास्थ्य सेवाहरू उपयोग गर्न सक्ने विश्वास गरिएको छ।

 

प्रकाशित मिति : २०८१ चैत्र २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस